अन्तरवार्तास्वास्थ्य

कोरोना भाईरसको कारण उत्पन्न मनोसामाजिक समस्यालाई यसरी कम गरौँ : मनोविद करुणा कुँवर

धादिङ,१७ असार ।
विगत १८ बर्षदेखी मानशिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएका मानशिक स्वास्थ्य तथा परामर्श केन्द्र(सीएमसी) नेपालका मनोविद करुणा कुँवर(विष्ट) सँग कोरोना भाईरस(कोभिड १९) को कारण उत्पन्न हुने मनोसामाजिक समस्यालाई कसरी कम गर्ने भन्ने विषयमा मैनबत्ति डटकमको लागी पत्रकार राम कुमार थापाले गर्नु भएको कुराकानीको सम्पादित अंश । 

१.कोरोनाका कारणले मानिसहरुमा समस्या भईरहेको छ,कोरोना भाईरसको कारणले व्यक्तिमा पर्ने मनोसामाजिक समस्यालाई कसरी लिन सकिन्छ ? 

कसरी भन्न सक्छौं भन्नु भन्दा अगाडी थोरै यसको पृष्ठभुमिलाई बुझ्नु महत्व हुन्छ जस्तो लाग्छ । विशेष गरी कोरोना भाईरस आयो । त्यसलाई याद गर्नुभयो भने कहिले पनि नसुनेको हुन्छ । महामारी भन्ने कुरा सुनेका थियौं तर भोगेका थिएनौं नि । त्यसैले गर्दा कस्तो हुन्छ भन्ने कुराको अनुभव हामी कसैले पनि गर्न पाएको थिएनौं  ।भारसहरुको नाम नसुनेको होईन विभिन्न नामहरु सुनिरहेका थियौं ।प्रत्यक्ष रुपमा त्यसले हामीलाई असर नगरेको हुनाले आउछ जान्छ एउटा बुझाई आम मानिसहरुमा थियो । तर अचानक कोरोना भाईरस पनि आयो ।त्यसपछि सुरु सुरुमा नेपालीहरुलाई लाग्दैन लागे नि भागवानले बचाउनुहुन्छ भन्ने लागेको थियो ।त्यो भनेको अझै पनि हाम्रो आत्मबल उत्साहित हुनु हामी सँग जुध्न सक्ने क्षमता छ भन्ने थियो ।तर विश्वमा नै यसको प्रभाव पर्दै गयो त्यो प्रभाव नेपालमा नपर्ने भन्ने कुरै हुन्न । त्यसको प्रभाव हामी कहाँ पनि पर्दै गएपछि त्यसपछि हामी पनि संक्रमित हुन सक्ने रहेछौं भन्ने थाहा हुन थाल्यो ।जसको कारणले गर्दा हरेक व्यक्तिहरुमा एक किसिमको अन्यौलता थपियो ।त्यत्ति मात्रै नभएर आफुले कहिले पनि नभोगेको नदेखेको लकडाउन लागु भयो । सबै छाडेर घरमै सिमित हुनुपर्ने अवस्था आयो । केहि समय कोरोना भाईरस जान्छ,हामीले लड्नै पर्छ भन्ने स्वीकार्यता आएता पनि  तर केहि समय पछाडी मानव भनेको सामाजिक प्राणी हो सबै सँग घुलमिल गर्न रुचाउछ ।साथ साथै जिम्मेवारी पनि धेरै वहन गरेको हुन्छ ।त्यसैले लकडाउनले गर्दा अनिश्चितता थपिदियो ।जसले गर्दा मनमा धेरै खालका सोचाईहरु आयो ।यो रोग सँग हामी लड्न सकिदैन कि, हामी पनि मरिन्छ कि भन्ने नकारात्मक सोचाईहरु आयो ।यस्ता भावनाहरु आएर छटपटी भएको, शरीर दुखिरहेको, निहुरी रहेको यस्ता यस्ता संकेत हाम्रो शरीरले देखाउने गर्दछ । यो अवस्थाम कसरी हेर्न सक्नुहुन्छ भने नै लक्षण थिएन । या भए पनि न्युन अवस्थामा थियो । अब बढ्दै बढ्दै गएर धेरै अप्ठ्यारो हुन थालेको, निन्द्र नलागेको यस्ता कुराहरु हेरेर मानसिक रुपमा असर पर्यो है भनेर बुझ्न सकिन्छ ।तर सबैलाई यसको असर यसरी परेको भन्ने हुदैन । केहि व्यक्तिहरुलाई हुन सक्छ । कस्तो व्यक्तिलाई धेरै असर पर्न सक्छ भन्दा जोे व्यक्ति पहिला देखि नै मानसिक रुपमा केहि न केहि समस्या थियो । जो व्यक्तिमा मानसिक रुपमा असर देखिएको  थियो उनीहरुमा त्यस्ता असरहरु बढि भएको देखिन्छ । त्यसैले यसको असर विभिन्न किसिमले हेर्न सकिन्छ भन्ने हो ।  

२. हामीले भनिरहेको मनोसामाजिक र मानसिक स्वास्थ्यमा के फरक छ ?

यस्तो हो मानसिक स्वास्थ्य भनेको हामी मानिस हौं हामी र हामी सँग मस्तिष्क छ  भन्यो भने त्यसलाई स्वास्थ्य सँग लगेर जोड्न सक्नुहुन्छ । मानसिक र शारीरिक स्वास्थ्य दुवै बराबर आवश्यक छ ।तर जसरी शरिरमा चोटपटक लागेको देख्नुहुन्छ विभिन्न लक्षणहरु देख्नुहुन्छ त्यसलाई शारीरिक समस्या शारीरिक रोग भनेर लिनुहुन्छ । तर हामीले मानसिक रुपमा आएका कुराहरु कतिपय पहिचान गर्न सकिरहेको हुदैन । तर अधिकांश शारीरिक रुपमा आएको लक्ष्णहरु पनि मानसिक हुन सक्छ । हामीले टाउको दुख्ने, ग्याष्ट्रिकको समस्या, पेटको समस्याहरु त्यसलाई हामीले शारीरिक समस्या भनेर लिईरहेका हुन्छौं ।तर त्यो कहिले काही मानसिक समस्या पनि हुन सक्छ । मानसिक समस्या भन्ने वित्तिकै कडा खालको रोग, पागलपन, विक्षिप्त अवस्था उसले गर्नुपर्ने व्यवहारहरु छन् त्यो गर्न नसक्नु दैनिक रुपमा हामीलाई विभिन्न समस्याहरु सँग जुध्न पर्ने हुनसक्ला जसले गर्दा चिन्ता हुन सक्ला ।यस्ता खालका लक्षणहरुले तपाईलाई मानसिक रुपमा कतै कतै समस्या पारिरहेको हुन्छ भन्ने हो । असर भनेको कडा खालको मानसिक रोग हो भनेर बुझ्नुपर्छ भन्ने होईन तर बुझाई कसरी बुझ्नु जरुरी छ भने हामी सबैको मानसिक स्वास्थ्य छ र मानसिक स्वास्थ्यको हेरविचार गर्नुपर्छ । त्यसैले मानसिक स्वास्थ हामी सबै सँग भएको कुरा हो । त्यसको हामीले हेर विचार गर्यो भने पुर्ण शरिर स्वास्थ रहन्छ भन्ने बुझ्नु आवश्यक छ । जति हामीले समयमा बुझ्न सक्यौ त्यत्ती नै हामीले आफु र हाम्रो वातावरणलाई नै स्वास्थ राख्छौं भन्ने कुरा महत्वपुर्ण हुन्छ । 

३.मानसिक स्वास्थ्यमा समस्या भयो भने पूर्व जन्मको फल हो भनेर आरोप लगाईन्छ। यसलाई  कसरी लिन सकिन्छ ?

 कुनै पनि रोग एउटा व्यक्तिलाई लाग्न सक्छ भने अरु कसैलाई पनि लाग्न सक्छ भन्ने बुझाई हामी सबैले लिनुपर्छ । कुनै पनि रोग पहिलो जन्मको पाप त्यस्तो केहि पनि हुने गर्दैन । त्यसकारण हामीले पूर्व जन्मको पाप हो भन्ने कुरा गर्दा म मानवता नै हराएको भन्छु । तर मानसिक रुपमा असर हामी सबैमा पर्न सक्छ । त्यसकारण हामीले के बुझ्नु आवश्यक छ भने यो मलाई पनि सक्छ अरुलाई मैले भने भनि मलाई नि असर पर्न सक्छ भन्ने बुझाई लिनुपर्छ । बरु त्यस्तो समस्या बाट गुर्जिरहेकालाई कसरी सहयोग गर्ने भन्ने सोच्नुपर्छ । जति सहयोगी भुमिका हामीले खेल्न सक्यौं हामीलाई पनि सहयोगी वातावरण आउन सक्छ । यसरी हामीले अन्धविश्वासका कुराहरु लिएर बस्यौं भने झन् त्यस्ता व्यक्तिहरु बाट क्षती हुन पुग्छ । समाजमा अहिले अपराधहरु हिंसाहरु बढिरहेको अवस्था छ तर त्यसमा पनि मानसिक समस्याहरु छन् भन्ने बुझ्न सकियो भने समयमै उसको उपचार हुन्छ भन्ने कुराहरु हुन् । त्यसैले यस्ता विभिन्न कुराहरु ओझेलमा वस्न बाध्य छन् । 

४.कोरोना लागेर भन्दा पनि आत्महत्या गरेर मर्नेको संख्या बढी छ । कसरी चिन्ने यो मान्छे आत्महत्याको जोखिममा छ भनेर ?

आत्महत्याको बढि जस्तो जोखिम प्राय नैराश्यता भएका, एक्दमै बढि डिप्रेशनमा भएका व्यक्तिहरुले गरिरहेका हुन्छन् ।त्यसकारण डिप्रेशन हामीले बेलैमा थाहा पाउन सक्छौं ।सर्वप्रथम त डिप्रेशन भएका व्यक्तिहरु पहिला जति घुलमिल नगर्ने,अथवा केहि गर्न मन पराउनेहरुले विस्तारै त्यो सबै हटाईरहेको हुन्छ त्यो कुराहरु याद गरिरहनु पर्छ । अधिकांश आत्महत्या गर्ने सोच बनाई सकेका व्यक्तिहरुले अभिव्यक्त गरिसकेका हुन्छन् ।त्यसलाई हामीले कसरी यसले धम्काएको हो मर्दैन भन्ने सोच्छौं । यस्ता खालका कुनै पनि लक्षण देखिएको हुन्छ । उसको कुराहरु के छ कस्तो छ भनेर सुनिदिने, उपचार गर्नै पर्ने छ भने उपचार गर्न लगेर सहयोग गरिदिनुपर्छ । अर्को कुरा आत्महत्याको कुरा गर्न नडराउनुस् । तिमिलाई के भईरहेको छ, मलाई भन म सुनिदिन्छु भन्दा उसको मनमा धेरै शान्त हुन्छ । मर्न मन लागेका व्यक्तिलाई आफुसँग भएका सुन्दर कुरा पनि व्यर्थ लाग्छ । त्यस्ता व्यक्तिहरुको सबै आशाहरु निराशा भइसकेको हुन्छ । त्यो आशालाई फर्काउनको लागि उ सँग बसिदिने, उसको कुराहरु सुनिदिने, म तिम्रो लागि छु भन्ने कुराहरु गर्ने यस्ता कुराहरुले उसले केहि कुराहरुको आशा पलाउछ र आत्महत्या गर्ने प्रयास गर्र्दैनन् । 

५. यसको व्यावस्थापन कसरी गर्ने त ?

यस्तो समय तपाई हामीलाई मात्रै आएको होईन सबैलाई आएको हो । यो समयमा हामी सबै मिलेर सामना गर्नुपर्छ ।हाम्रो जिवन कोरोना भाईरस मात्रै होईन केहि न केहि समस्याहरु आएका थिए होला हामीले त्यो सँग जुधेका पनि थियौं होला ।हामीले विश्वास के मा गर्नुपर्छ भने यस्ता समस्या पार गर्न सक्छौं भन्ने आफुमा विश्वास हुनुपर्छ ।मानिसको जिवन सहज होईन कठिन नै छ तर कठिन भित्र पनि सहजता खोज्नु पनि हामी सँग क्षमता छ भन्ने सोच्नुपर्छ।आफुले आफैलाई धैर्य धारणा गरेमा यो समस्याहरु बाट बाहिर निस्कन सक्छौं भन्ने जस्तो लाग्छ । 

६.यो बेलामा व्यक्ति परिवारले के–के कुरामा आफ्नो स्व हेरचाहा गर्न सक्छन् ?

हामी वास्तवमा नै आफ्नो हेरविचारमा सक्षम हुने हो भने उपायहरु प्नि निकाल्न सक्ने क्षमता हामी मानिसहरुमा हुन्छ ।त्यसकारण अहिलेको समयमा आफुलाई जोगाई राख्न पनि हामीले आफ्नो हेरचाह गर्न एक्दमै महत्वपुर्ण हुन्छ । विशेष गरि खानपान, तपाई पर्याप्त मात्रामा सुतिरहनु भएको छ कि छैन यो कुराहरु महत्वपुर्ण हुन सक्छ।आफ्नो बालबालिकाहरुको ख्याल गरिरहनु भएको छ कि छैन, घरपरिवारमा आफ्नो सम्बन्ध सुदृढ गर्ने कुराहरु गरिरहनु भएको छ कि छैन । एक अर्कामा सहयोगी भुमिकामा तपाई आईरहनु भएको छ कि छैन यो महत्वपुर्ण छ । कतै मैले नै हिंसाहरु गरिरहेको त छैन, भाईरस सँग लड्नको लागि रक्सीहरु खाईरहेको त छैन यी कुराहरु पनि नियाल्नु जरुरी छ । त्यसैले हेरविचारमा आफुले सोसियल मिडिया कत्तिको चलाईरहेका छौं कति समय विताई रहेका छौं, त्यसले पनि धेरै नै असर गर्ने हुनाले राती ८ घण्टा सुत्नु आवश्यक छ । यसरी साधारण कुराहरु मात्रै तपाईहरुले सोच्ने हो भने के गर्ने त भन्ने जस्ता समस्याका उपायहरु निकाल्न सकिन्छ । 

७.यतीखेर विदेशमा हुनेहरुको पनि काम गुमेकोे छ, कति त शव ल्याउन पनि समस्या परिरहेको छ । यो समयमा प्रदेशिका परिवार र घरदेशीका परिवारले आफ्नो स्वास्थ्यमा कसरी ख्याल गर्ने ?

यती बेलाको समयमा जटिल समस्या बाट गुज्रिरहेको अवस्था होला ।यती बेला पुरै सकारात्मक सोच आउनुपर्छ र आउनको लागि जोड गर्नुपर्छ भनेर भन्दिन म ।उहाँहरुलाई परेको समस्या बाट गुज्रिरहेका छन् ।ती कुराहरु स्वभावीक पनि हो । आफन्तहरु गुमाईरहेको अवस्था पनि छ ।आफन्तहरु विदेशमा गुमाईरहेको अवस्था छ अर्को तिर गुमाएका आफन्तको पनि शव ल्याउन पाईरहेको अवस्था छैन । यस्तो समयमा घर परिवार आफन्तहरुलाई सहयोगि भुमिका खेलिदिनु पर्छ । म तपाईहरुको साथमा छु भन्ने खालको आभास गाराउनु पर्छ ।जो चिन्तामा वस्नु भएको छ उहाँहरुको कुराहरु सुनिदिने, नजिक गएर बसिदिने गर्नुपर्छ । त्यसकारण एक अर्काको सहयोगी भुमिका निभाउने र एक हुनुपनि जरुरी छ । 

८.स्वास्थ्यकर्मी, सुरक्षकार्मी र संचारकर्मीहरु पनि अग्रपंतीमा काम गरिरहनु भएको छ,उहाँहरुमा पनि मनमा डर, चिन्ता हुन सक्छ त्यो बेलामा उहाँहरुले के गर्नुपर्छ र मनको हेरचाह कसरी गर्नुपर्छ ?

अग्रपंतीमा वस्नु भएको छ अर्को कुरा उहाँहरुले दैनिक रुपमा समाचारहरु सुनिरहनु भएको छ ।अथवा संक्रमित व्यक्तिहरु सँग भेटिरहेको हुन सक्छ सबै भन्दा ठुलो औषधि भनेको नै आत्मबल हो ।तपाईले आत्मबल बढाउन्ु हुन्छ,आफुलाई बचाउन सक्छु र रोग सँग सामना गर्न सक्छु भन्ने क्षमता राख्नुहुन्छ । जति सक्दो संक्रमित बाट आफुलाई बचाउन सक्ने खालका उपायहरुलाई हेर्ने, घर गएपछि खाना खाएर सुत्ने र आफुले गरेको दैनिक काम प्रति आफुलाई धन्यवाद दिने । हिजो दिनमा जुन कामको छनोट राख्नु भएको छ म अग्रपंक्ति मै रहन्छु भन्ने खालकै शाहसका कारण ती कुरालाई विर्सिन भएन । त्यसकारण जो अग्रपंक्तिमा रहेका व्यक्तिहरु हुनुहुन्छ आफुले आफैलाई सम्मान गर्नुस् । वास्तवमा आफु आफैमा महत्वपूर्ण हुनुहुन्छ भनेर महशुस गर्नुहोस् । 

९. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

सबैलाई के भन्न चाहन्छु भने हरेक मानिसमा क्षमता छन् । त्यो क्षमतालाई पहिचान गर्नुस् । यस्तो बेलामा आत्तिने, डराउने, छटपटाउने भन्दा पनि धैर्यधारणा गरेर के गर्ने कसरी अघि बढ्ने भनेर बुझ्नु आवश्यक छ । अर्को कुरा यत्ति बेला हामीले एक अर्कालाई मानविय व्यवहारहरु गर्न सकिने अवस्था छैन । यो समय आउला जाला एक ठाउँमा छ तर हामी एक अर्काको लागि सहयोगि हुनुपर्छ भन्ने कुरा महत्वपुर्ण छ । हरेकले आफ्नो क्षमतालाई समयमा नै पहिचान गरौं र आफुलाई सुरक्षित पनि राखौं । 

सम्बन्धित समाचार