लुम्बिनीमा २३३ प्रहरी जवान दीक्षित,डिआईजीको निर्देशन-‘नागरिकको विश्वास जित्ने गरी सेवा गर्नुस्’

सुरेश परियार,मंसिर ११ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले प्रहरी जवान संगठनको आधार स्तम्भ भएकाले नागरिकको विश्वास जित्ने गरी इमानदार,अनुशासित र जिम्मेवार भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र,बुटवलमा आयोजित प्रहरी जवान आधारभूत तालिम ८–११४ औँ समूहको दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले प्रहरी सेवा केवल जागिर मात्र नभई राष्ट्र र नागरिकप्रतिको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो।

उहाँले तालिमका क्रममा हासिल गरेका ज्ञान, सीप,अनुशासन र व्यावसायिकतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो। प्रहरीको व्यवहार,कार्यशैली र सेवाप्रतिको प्रतिबद्धताले नै संगठनप्रति नागरिकको धारणा निर्माण हुने उल्लेख गर्दै उहाँले निष्पक्षता,इमानदारी र मानवअधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।खत्रीले कुनै पनि दबाब, प्रभाव र प्रलोभनमा नपरी कानुनअनुसार जिम्मेवारी निर्वाह गर्न तथा नागरिकसँग सम्मानजनक व्यवहार गर्दै नागरिकमैत्री प्रहरी सेवामा समर्पित हुन निर्देशन दिनुभयो।

तालिम केन्द्रका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवालीले दीक्षित प्रहरी जवानहरूलाई उहाँले प्रहरी सेवामा अनुशासन, इमानदारी, कर्तव्यनिष्ठा र सेवाभाव अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकको सुरक्षा र सेवामा सदैव प्रतिबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको आयोजनामा सम्पन्न दीक्षान्त समारोहमा २३३ जना प्रहरी जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्।समारोहमा नवदीक्षित प्रहरी जवानका परिवार तथा आफन्तजनको समेत उपस्थिति रहेको थियो। आफ्ना सन्तान तथा परिवारका सदस्य प्रहरी सेवामा प्रवेश गरेको अवसरमा उपस्थित परिवारजनले खुसी र गर्व व्यक्त गरेका थिए।दीक्षान्त समारोहले तालिम पूरा गरेका २३३ जना प्रहरी जवानलाई व्यावसायिक प्रहरी सेवाको नयाँ जिम्मेवारीमा प्रवेश गराइएको तालिम केन्द्रका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार