सुरेश परियार,असोज २२ गते ।रुपन्देहीको मायादेवी गाउँपालिकामा भूमिहीन तथा सुकुम्बासी पहिचान, प्रमाणीकरण र भूमि व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तथा प्रगति समीक्षा कार्यक्रम बिहिबार सम्पन्न भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्बदा देवी उपाध्याय र नापी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख तथा भूमि समस्या समाधान समिति रुपन्देहीका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत मणी प्रसाद रेग्मी विशिष्ट आतिथ्यता रहेको थियो ।
गाउँपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान गरी प्रमाणीकरणको प्रक्रियामा ल्याउन वडा अध्यक्ष, वडा सचिव तथा नापी प्राविधिकहरूलाई निर्देशन दिनुभयो। सम्बन्धित वडाबाट वास्तविक भूमिहीन तथा सुकुम्बासीको प्रमाणीकरण भएर आएपछि कार्यपालिकाको बैठकबाट स्वीकृत गरी यथाशीघ्र जिल्ला समितिमा पठाउने र योग्य नागरिकलाई जग्गा उपलब्ध गराउने विषयमा गाउँपालिका सकारात्मक रहेको उहाँले बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराई जग्गाधनी बनाउने कार्य अत्यन्तै नेक र पवित्र कार्य भएको बताउँदै यसमा कुनै पनि किसिमको ढिलासुस्ती नगरी आवश्यक कामकारबाही यथाशीघ्र अघि बढाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो। उहाँले निर्धारित प्रक्रिया पूरा गरी उक्त कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै,नापी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख तथा भूमि समस्या समाधान समिति रुपन्देहीका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत मणी प्रसाद रेग्मीले वास्तविक सुकुम्बासी पहिचान गर्ने मापदण्ड तथा प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले प्रमाणीकरण गर्ने विधि र प्रक्रियाका विषयमा प्रस्तुतीकरणमार्फत स्पष्ट पार्दै सरकारको नीति तथा प्रचलित कानुनी प्रक्रियाका बारेमा समेत जानकारी गराउनुभयो।
प्रमुख नापी अधिकृत रेग्मीले भूमि समस्या समाधान समिति र नापी कार्यालयले मायादेवी गाउँपालिकाको भूमि व्यवस्थापनसम्बन्धी कार्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जग्गाको नाप–नक्सा तथा जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रक्रियामा समेत कार्यालयले आवश्यक सहजीकरण गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी वडा अध्यक्ष तथा कर्मचारीहरूले भूमिहीन पहिचान, प्रमाणीकरण तथा कानुनी प्रक्रियासम्बन्धी विभिन्न जिज्ञासा तथा सवालहरू राखेका थिए। उठेका जिज्ञासाहरूको नापी कार्यालयका प्रमुख नापी अधिकृत रेग्मीले सम्बोधन गर्दै आवश्यक पर्ने विभिन्न प्रकारका फारम, नमुना तथा दस्तावेजहरू समेत उपलब्ध गराउनुभएको थियो।

कार्यक्रमले मायादेवी गाउँपालिकामा वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचान, प्रमाणीकरण र भूमि उपलब्ध गराउने प्रक्रियालाई थप प्रभावकारी र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रममा गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्षहरू, गाउँपालिकाका इन्जिनियर मान प्रसाद श्रेष्ठ, सम्पूर्ण शाखा प्रमुखहरू, वडा सचिवहरू तथा भूमि व्यवस्थापन इकाईमा कार्यरत नापी प्राविधिकहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा अमिन लक्ष्मण घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अमिन हृदेश बनियाले गर्नुभएको हो । भूमि व्यवस्थापन इकाईबाट हालसम्म सम्पन्न भएका कार्यहरूको प्रगति प्रतिवेदनसमेत अमिन हृदेश बनियाले प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्