मायादेवी गाउँपालिकाको आयोजनामा सामुदायिक संस्थाका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको लेखा परीक्षण व्यवस्थापन तालिम सम्पन्न भएको छ। असोज २६ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको तालिममा सामुदायिक संस्थाहरूको लेखा व्यवस्थापन, वित्तीय पारदर्शिता, आर्थिक अनुशासन तथा लेखा परीक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धिका विषयमा सहजीकरण गरिएको थियो।
तालिमको समापनका अवसरमा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले सामुदायिक संस्थाहरूको संस्थागत विकास, पारदर्शिता र जवाफदेहिता अभिवृद्धिका लागि व्यवस्थित लेखा व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। उहाँले संस्थाले गर्ने आर्थिक कारोबार पारदर्शी बनाउन, आय–व्ययको सही अभिलेख राख्न तथा प्रचलित नियमअनुसार लेखा परीक्षण गराउनुपर्नेमा जोड दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भुसालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै सामुदायिक संस्थाहरूको आर्थिक अनुशासन कायम गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले संस्थाहरूको क्षमता अभिवृद्धि र सुशासन प्रवर्द्धनका लागि गाउँपालिकाले आवश्यक सहजीकरण गर्दै जाने धारणा व्यक्त गर्नुभयो।
तालिममार्फत सामुदायिक संस्थाका प्रतिनिधिहरूलाई आर्थिक कारोबार व्यवस्थित गर्ने, वित्तीय अभिलेख दुरुस्त राख्ने तथा लेखा परीक्षण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्