सुरेश परियार,मंसिर १० गते । रुपन्देहीको मायादेवी गाउँपालिका–७ (साविक हाटीबगाई गाविस वडा नं. ६) का १४८ स्ववासी परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका उनीहरूले जग्गाको नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा प्राप्त गरेका हुन्।
नापी कार्यालय रुपन्देहीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। नापजाँच तथा नक्साङ्कन सम्पन्न भए पनि विभिन्न कानुनी र प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन।
मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका नागरिकले लालपुर्जा प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले नागरिकलाई आफ्नो जग्गाको कानुनी स्वामित्व दिलाउने विषयलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै बाँकी रहेका भूमिसम्बन्धी समस्या समाधानका लागि समेत आवश्यक समन्वय र सहकार्य गरिने बताउनुभयो।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणि रेग्मीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी १४८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७० सालमै नापजाँच सम्पन्न भएको भए पनि विभिन्न प्रक्रियागत कारणले पुर्जा वितरणमा ढिलाइ भएको थियो। लामो समयदेखि रोकिएको प्रक्रिया पूरा गरी नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो।
त्यस्तै, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले जग्गाधनी प्रमाण पुर्जा प्राप्त हुनु नागरिकका लागि आर्थिक, सामाजिक तथा कानुनी सुरक्षाको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले जग्गाको स्वामित्व सुनिश्चित भएपछि नागरिकलाई आफ्नो सम्पत्तिको उपयोग, संरक्षण तथा आवश्यक कानुनी कारोबार गर्न सहज हुने उल्लेख गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गर्दै आएको बताउनुभयो।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणि रेग्मीको अध्यक्षतामा आयोजित लालपुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नर्मदा देवी उपाध्यायको विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल, नापी अधिकृत सूर्यबहादुर कार्की तथा वडा नं. ७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयलगायतको आतिथ्यता रहेको थियो।कार्यक्रमबारे जानकारी दिँदै अमिन लक्ष्मण घिमिरेले लामो समयको प्रतीक्षापछि लालपुर्जा प्राप्त गर्दा स्थानीय परिवारले खुसी व्यक्त गरेको बताउनुभयो।
लालपुर्जा प्राप्त भएसँगै वर्षौंदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका १४८ परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ। यसले स्थानीय नागरिकको सम्पत्तिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।कार्यक्रमको सञ्चालन भने अमिन ह्रदेश बानियाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्