मायादेवी गाउँपालिकाको आयोजनामा महिला समूहहरूसँग त्रैमासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाले अ गरेको कार्यक्रममा गाउँपालिकामा दर्ता भएका २० वटा महिला समूहका दुई–दुई जना प्रतिनिधिको सहभागिता रहेको थियो।कार्यक्रममा महिला समूहहरूले सञ्चालन गर्दै आएका गतिविधि, हासिल गरेका उपलब्धि तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। साथै, महिला समूहहरूको भूमिका थप प्रभावकारी बनाउने तथा सामाजिक सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले महिला समूहहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।उहाँले महिला समूहहरू सामाजिक सचेतना फैलाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्न र सामाजिक जागरण फैलाउन समूहहरूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
महिला समूहहरूको सक्रियताले समुदायमा विद्यमान सामाजिक समस्या न्यूनीकरण गर्न तथा महिलाहरूको सहभागिता र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्ता अन्तरक्रिया कार्यक्रमले समूहहरूबीच अनुभव आदानप्रदान गर्ने र आगामी गतिविधिलाई थप व्यवस्थित बनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
महिला विकास निरीक्षक रमा पौडेलको संयोजन तथा सञ्चालनमा सम्पन्न कार्यक्रममा महिला समूहका प्रतिनिधिहरूले आफ्ना गतिविधि र अनुभव प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्