मुख्य समाचार

रुपन्देहीमा पुर्जा वितरण कार्य सुरु,गैडहवाका १६ भूमिहीनले पाए पुर्जा

सुरेश परियार,असोज ३० गते । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ र ९ का भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ।शुक्रबार जिल्ला भूमि समस्या समाधान समिति,रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका,रुपन्देहीको समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा १६ जना भूमिहीन दलित,सुकुम्बासी लाभग्राहीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

पुर्जा प्राप्त गर्नेमा १४ जना मुसहर समुदायका र २ जना मुस्लिम समुदायका गरी १६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी रहेका छन्। जसमा वडा न.८का असर्फिया मुसहरिन,पंचराम मुसहर,कलाम मुसलमान,वंशज मुसहर,कलाम मुसहर,बलिकरण मुसहर,सोहनी मुसहर,सोनमति मुसहर,सुईदमुसलमान,गम्भी मुसलमान गरि ९ जना र वडा न.९ का अयोध्या मुसहर,फुलकेसरी मुसहर,नन्दलाल मुसहर,सहसराम मुसहर,शख्खु मुसहर,प्रदेशी मुसहर गरि ७ जनाले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन् ।

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नै नाममा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गर्नु भूमिहीन परिवारका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले गाउँपालिकाले भूमि समस्या समाधानलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर बाँकी नागरिकलाई समेत पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । गाउँपालिकामा ४६०० जनाको लगत प्रविष्टि,४२५० जनाको व्यक्ति प्रमाणित भैसकेको भन्दै बाँकी रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी शिघ्र जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने पौडेलले उल्लेख गर्नुभयो ।हालका जनप्रतिनिधिको ४ वर्षको अथक प्रयास,नापी कार्यालय,भुमि समस्या समाधान आयोग,समितिको निरन्तर काम र सरकारको प्राथमकिता भएकै कारण पुर्जा वितरण गर्न सफल भएको पौडेलको विश्वास रहेको छ । भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधान गर्न पछिल्लो ४ वर्षमा ४ करोड पालिकाले लगानी गरिसकेको समेत अध्यक्ष पौडेल बताउनुभयो ।

कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति, रुपन्देहीका संयोजक विश्वप्रकाश अर्यालले लामो समयदेखि भूमिहीन अवस्थामा रहेका नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्ने कार्य महत्वपूर्ण रहेको बताउनुभयो। रुपन्देहीमा हाल सम्म १० हजार भुमिहिन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासीको प्रविष्टि भैसकेको जानकारी समेत उहाँले दिनुभयो ।अर्यालले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्य रुपन्देहीका अन्य पालिकामा समेत छिट्टै गरिने बताउनुभयो ।वर्तमान सरकारको लक्ष्य अनुसार पालिकाको सक्रियता क्रियाशिल भएमा रुपन्देहीका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाण पुर्जा छिट्टै प्राप्त गर्ने ठोकुवा गर्नुभयो ।

त्यस्तै,नापी कार्यालय तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्य–सचिव तथा नापी अधिकृत मणि प्रसाद रेग्मीले भूमि समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्दै लाभग्राहीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो। उहाँले वास्तविक भूमिहीनको पहिचान,नापजाँच तथा आवश्यक कागजी प्रक्रिया पूरा गरी क्रमशः पुर्जा वितरणको काम अघि बढाइने जानकारी दिनुभयो।

वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका नागरिकले आफ्नै नाममा जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेपछि गैडहवाकी सोनमति मुसहरले खुसी व्यक्त गर्दै सम्बन्धित सबैलाई आभार प्रकट गर्नुभएको छ्।आफूहरूको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको भन्दै लाभग्राहीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

गैडहवा गाउँपालिकामा भूमि समस्या समाधानका लागि जिल्ला भूमि समस्या समाधान समिति, नापी कार्यालय र स्थानीय तहबीचको समन्वय तथा सहकार्यलाई निरन्तरता दिइने बताइएको छ। कार्यक्रममा पालिकाका उपाध्यक्ष माधुरी जैसवाल,प्रमुख प्रशासकीय अधिकृत अनिता वि.क.थारु,जिल्ला प्रशासन कार्यालयका अधिकृत रोमनाथ न्यौपाने,गैडहवाका क्रियाशिल राजनिति दल,अन्य कर्मचारी,्रप्रहरी,स्थानीय,पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन सरकारका उपसचिव गणेश भट्टराईले गर्नुभएको थियो ।

सम्बन्धित समाचार