Uncategorizedअर्थ र ब्यापारमुख्य समाचारसमाचार

काठमाडौंमा सबै पसल खुल्ला

आइतबार बिहान झिसमिसैमा न्यूरोडका पसलहरु खुल्न शुरु भए । न्यूरोडको रञ्जना ट्रेड सेन्टर, नेपाः कम्प्लेक्स जस्ता ठूला सपिङ मलहरु पनि खुला भए । न्यूरोडमा लामो समयदेखि व्यापार गर्दै आएकी सुस्मिताले पनि बिहान ९ नबज्दै सटर खुला गरिन् ।

ग्राहक आए कपडा दिन तयारी अवस्थामा बसेकी उनको पसलमा यति चाँडै कोही ग्राहक पस्ने सम्भावना कम थियो । फुर्सदमा के गर्ने ? यही त हो साथी मोबाइल ! सुस्मिता मोबाइलमा अल्मलिइन् ।

नियमको कुरा गर्ने हो भने आइतबार उनले कपडा पसल खुलाउन पाउँदिनन् । उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुले व्यापार व्यवसाय खुला गर्न अनुमति त दिएका छन् । तर, शर्त छ– तोकिएको बारअनुसारमात्रै पसल खोल्ने ।

प्रमख जिल्ला अधिकारीहरुको आदेश मान्ने हो भने भाँडा भान्साजन्य सामाग्रीमात्रै खोल्न पाइन्छ । तर, सुस्मिताले जस्तै अन्यले पनि सबैखाले पसलहरु खोलेका छन् ।

नजिकैको इलेक्ट्रोनिक्स पसल पनि पुरै खुलेको छ । शनिबार पनि यसैगरी सबै प्रकारका पसलहरु खुलेकै थिए । शनिबार प्रशासनले कपडा पसल, जुत्ता पसल, कस्मेटिक, पसलहरु मात्र खुलाउनू भनेको छ । तर, सबै प्रकारका पसलहरु खुलेका छन् । सिडियोको आदेश कागजमा सीमित भएको छ ।

‘बन्द बन्द बन्द ! सधैं बन्द गरेर हुन्छ ? हामीलेचाहिँ पेट पाल्नुपरेन ? न्यूरोडको संकटा मन्दिर जाने बाटोमा एक इलेक्ट्रोनिक्स पसलेले भने, ‘सधैं बन्द गर्दा व्यापार त ठप्प भयो भयो, सामान बिग्रिएर ठूलो नोक्सानी हुँदैछ, के यसको क्षतिपूर्ति कसैले दिन्छ र ?

न्यूरोडकै अर्का जुत्ता पसलेले २५ गतेदेखि नै पसल सञ्चालन गरिररहेको बताए । जुत्ता पसल खोल्नका लागि सोमबार, बिहीबार र शनिबारमात्र तोकिएको छ । तर, आफूले बार तोकिएको समाचार पढे पनि कुन दिन के खोल्ने भन्ने क्यालेन्डर नबनाएकोे बताए ।

‘सरकारले नै खुला भएको भनेपछि मैले २५ गते आएर पसल खोलें, त्यसपछि सधैं खोलिरहेको छु,’ ती व्यापारीले भने, ‘हुन त खोले भन्नुमात्रै हो, ग्राहक भने कोही आउँदैनन् हिजो शनिबार धन्न बोहोनी भयो, नत्र बोहोनी हुन पनि गाह्रो छ ।’

न्यूरोडमा जस्तै भोटेबहालतिरका होलसेल पसलहरु पनि सबै खुलेका छन् । उनीहरुले पनि पसल खोल्नका लागि जिल्ला प्रशासन कार्यालयले तोकेको बार हेर्दैनन् । उनीहरु सबैको एउटै जवाफ छ, ‘सरकारले बन्द गर् भन्दा लामो समय गरेकै हो, अझै कति दिन बन्द गर्नु र ?’ बार अनुसार खोलेर केही नहुने उनीहरु बताउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अहिले कोरोना संक्रमण भएर आइसोलेसनमा छन् । उनको सचिवालयका अनुसार उनी होम आइसोलेसनमा छन् ।

मेयर शाक्यको घरसँगै टाँसिएका थुप्रै कपडा, फेन्सी, जुत्तालगायतका पसल पनि निर्वाधरुपले सञ्चालनमा आएकै छन् ।

सधैं बन्द गरेर नहुने भन्दै आवश्यक सुरक्षा सतर्कता अपनाएर व्यापार व्यवसायहरु पूर्णरुपमा खोल्नुपर्ने व्यवसायीको माग छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल यतिबेला व्यवसायीहरु निकै ठूलो अप्ठ्यारो झेलिरहेको बताउँछन् ।

‘व्यापार–व्यवसाय ६ महिनाभन्दा बढी ठप्प भए, यति लामो समय सटर बन्द हुँदाको पीडा व्यवसायीलाई कस्तो पर्‍यो होला ?’ कटुवालले भने, ‘सरकारले घरभित्रै थुन्ने हो भने कोरोनाबाट त बचिएला तर भोकबाट बच्न सकिँदैन । यसबारेमा सरकारले नसोच्नु दुःखद हो ।’

काठमाडौं उपत्यकामा प्रशासनले पसलहरुलाई मात्र शर्त तोकेको छैन, यातायातमा पनि जोर–बिजोर प्रणाली घोषणा गरेको छ । तर, यो जोरबिजोर प्रणाली पनि कार्यान्वयनमा आएको छैन ।

सम्बन्धित समाचार