रुपन्देही ट्राफिकको सक्रियताले ४ करोड ७२ लाख बढि राजश्व उठ्यो,३७ हजार कार्बाहीमा

सुरेश परियार,साउन ८ गते ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सक्रियताले राजश्व संकलनमा वृद्धि भएको छ । आ.व २०८२।०८३को तथ्यांक अनुसार ट्राफिक नियम तोड्ने झण्डै ३७ हजार सवारी साधनलाई जरिवाना तिराईएको हो ।जिल्ला ट्राफिक प्रहरीले शुक्रबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गर्दै जरिवाना बापत रु.४ करोड ७२ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ भने यातायात कार्यालयमा गरिएको सिफारिस अनुसार यातायातले गरेको कार्बाहीबाट रु.६ करोड २८ लाख राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ । विगत एक वर्षमा १ हजार ७९ वटा सवारी दुर्घटनाबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् भने २ सय २४ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरीका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक प्रतिमा कार्कीले अधिकांश दुर्घटनामा चालकको लापरबाही र सडक अनुशासनको कमिले गर्दा हुने भएको बताईकी छन् ।बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक नियम र चेकिङमा कडाइ गर्नुका साथै ट्राफिक सचेतनाका कार्यक्रम पनि सडक एवं समुदायस्तरसम्म सञ्चालन गर्दै अघि बढेको उल्लेख गरिन् ।

ट्राफिक प्रहरीले सडकमैं ‘चालकसँग तीन मिनेट’ कार्यक्रम प्रभावकारी बन्दै गएको बताउँदै सडक अनुशासनको पुर्ण रुपमा पालना गर्न सबैलाई प्रहरी निरीक्षक कार्कीको आग्रह रहेको छ । लागुऔषध र मापसे प्रयोगकर्तामा १७ जना चालक फेला परेका छन् । रातो प्लेटमा यात्रु बोक्ने,स्वरूप परिवर्तन गर्ने,ध्वनि प्रदूषण फैलाउने र नवीकरण नगरिएका ३ वटा मोटरसाइकल र २ वटा बसलाई नियन्त्रणमा लिइसकिएको छ ।अनावश्यक बत्ती र हर्न नियन्त्रण अभियान अन्तर्गत १२ पटक गरिएको विशेष चेकिङमा ९१६ वटा सवारी साधनबाट अनावश्यक चर्को हर्न र थप गरिएका लाइट झिकेर कार्बाही गरिएको छ ।

ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउन प्रहरीले नयाँ प्रविधिहरू अपनाएको छ ।जसअनुसार भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनहरूको चेकजाँच र सुरक्षित अभिलेखका लागि सिद्धार्थनगर–१,बेलहिया नाकामा मोबाइल एप्स मार्फत २४सै घण्टा सवारी साधन इन्ट्री गर्ने व्यवस्था मिलाइएको छ भने हालसम्म ११ हजार ९० वटा सवारी साधन एपमा इन्ट्री भइसकेका छन् ।

बुटवल र भैरहवाको बिचको तिलोत्तमा–१५ स्थित पत्थरडाँडामा नम्बर प्लेट सहित पहिचान गर्ने स्वचालित क्यामेरा पुनः सञ्चालनमा ल्याई ट्राफिक निगरानी बढाइएको छ ।स्वचालित क्यामेरा जेनजी आन्दोलनको बेला नष्ट पारिएको थियो । क्यामेराले प्रत्येक सवारी साधनको गतिको मापन हाल गरिरहेको छ ।

सडक सुरक्षा बढाउन स्थानीय निकायहरूसँगको समन्वयमा सडक खण्डहरूमा ब्यारिकेड,ट्राफिक संकेत र जनचेतनामूलक होडिङ बोर्डहरू राखिएको छ । विभिन्न संघ–संस्था, सहयोगी दाता तथा स्थानीय तहहरूसँग समन्वय र सहयोग जुटाउँदै आफ्नो सेवा र सुरक्षा व्यवस्थालाई थप चुस्तःदुरुस्त बनाएको प्रहरी निरीक्षक कार्कीले बताइन् ।

सम्बन्धित समाचार