कर्मचारीले नागरिकको मन जित्ने गरि काम गर्नुपर्छ : पूर्वअध्यक्ष मैनाली

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कर्मचारी जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् । उनले कर्मचारीले जनताको मन जित्ने खालको काम गर्नुपर्ने बताए ।निजामती सेवा दिवस, २०८१ को अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आयोजना तथा कर्मचारी मिलन केन्द्र, रुपन्देही र आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीको संयोजन एवं व्यवस्थापनमा शनिबार भैरहवामा भएको कार्यक्रममा पूर्वअध्यक्ष मैनालीले यस्तो बताएका हुन् । जनताको मन जित्ने खालको काम गर्न ढिलाइ भइसकेको उनले बताए ।

उनले भने, ‘जनताले तिरेको करबाट तलब खाएर समाजसेवा गर्ने निजामती लगायत सार्वजनिक सेवा हो । आफूले गर्न सक्ने सुधार गरौं । सुधार गर्नुपर्ने धेरै कुराहरु छन् । जनताप्रति उत्तरदायी बन्नुपर्छ । आफूले गर्ने काममा अरुलाई दोष दिएर हुँदैन ।’उनले निजामती र सार्वजनिक सेवामा सुधार गर्नुपर्ने र सुधार भए विकास हुने बताए । उनले विकास र सुशासनमा निजामती सेवाको भूमिका महत्वपूर्ण हुने बताए । उनले समय अनुसार चल्नुपर्ने र नयाँ प्रविधि ग्यारेण्टीका साथ भित्र्याउनुपर्नेमा जोड दिए । नयाँ प्रविधिमा गएपछि भ्रष्टाचार न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

पूर्वअध्यक्ष मैनालीले सेवाग्राहीलाई कार्यालयबाट हसिलो मुहारमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘एकले जानेको कुरा अरुलाई नसिकाउने प्रवृत्ति छ । कर्मचारीतन्त्रमा राजनीति प्रवेश भयो । अहिले निजामती सेवाको शाख गिरेको छ । त्यसैले आफ्नो कमीकमजोरीको आत्मलोचना गरेर अगाडि बढ्नुपर्छ । सुधार गर्ने संकल्प लिनुपर्छ । हामी जनताभन्दा माथि होइनौ । ’

उनले नियुक्त र निर्वाचित प्रतिनिधि लय मिलाएर काम गर्नुपर्नेमा जोड दिए । आमूल परिवर्तनमा सहभागी भएका निजामती कर्मचारीलाई अहिले देशमा योगदान गर्न, विकासमा फड्को मार्न र काम गर्न कसले रोक्यो भन्दै उनले प्रश्न गरे ।त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूहरुको टीमवर्कको कारण जिल्ला प्रशासन कार्यालय रुपन्देही देशमै १ नम्बर भएको बताए । उनले भने, ‘कार्यसम्पादनमा रुपन्देही प्रथम हुनुमा तपाई हामी सबैको भूमिका छ । अभिभावकीय भूमिकामा चल्न प्रयत्न गरेकै हो । अलि फरक बाटो हिंड्न खोजेकै हो ।’ उनले नागरिकको सन्तुष्टी र नागरिकमैत्री सेवा सिस्टमले खोजेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष उत्सव न्यौपानेले प्रविधिको विकाससँगै भ्रष्टाचारको अन्त्य हुने बताए । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले संघीय निजामती सेवा ऐन आउन नसकेकाले राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश र स्थानीय तहमा असर पुगेको बताए ।आधिकारीक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष रमेश प्रसाद पाण्डेले निजामती सेवा दिवसलाई आफ्नो समीक्षा गर्ने दिनको रुपमा लिएको बताए ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।‘व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ नाराकासाथ निजामती दिवस–२०८१ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सम्बन्धित समाचार