बालेनको ग्रेटर नेपाल र नेपाली समाज

प्रकाश पछाई,

हालै भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका कपिलबस्तु, लुम्बिनी, बिराटनगर समेत पाकिस्तान, बंगालदेशका विभिन्न भुभाग समावेश गरिएको अखण्ड भारत नाम दिइएको भित्ते नक्सा राखेपछि यसले नेपालको सामाजिक संजाल, चियापसल देखी लिएर संसदसम्म बहस तातिएको छ । त्यसमाथि तेल थपिदिएका छन काठमाण्डौका मेयर बालेन्द्र(बालेन) शाहले । आफ्नो कार्यकक्षमा सुगौलि सन्धिपूर्वको नेपालको नक्सा(जसलाई अहिले हामी ग्रेटर नेपाल भन्दछौ) राखेर भारतीय संसदमा राखिएको नक्सालाई काउन्टर दिएका छन ।

नेपालमा पनि नयाँ संसद भवन बन्दै छ हामीले पनि यसमा बालेनले जस्तै ग्रेटर नेपालको नक्साको भित्तेचित्र बनाउन सक्छौ त!  एवंरितले बेलायतले बिश्वयुद्ध पहिलेको ब्रिटिस साम्राज्यको नक्सा राखे के होला? मंगोलियाले मंगोलियन साम्राज्यको नक्सा राख्दै गए के होला? जे होस बालेनले आफुलाइ निडर र बोल्ड निर्णय गर्न सक्ने नेताको रुपमा खरो उतारिरहेका छन । उनले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साले भारतलाई छुन्छ, छुदैन वा नेपालीहरुलाई नै मन पर्छ, पर्दैन यो बहस गर्नेहरुकै भागमा छोडिदिउँ, यो कुरा चाँही पक्का होकी सरकारलाई उनले छिमेकीसँग आफ्नो विचार राख्न र परिआए उपयुक्त कदम उठाउन खुट्टा नकमाउ भनेर सिकाएका छन ।

प्रधानमन्त्रीको भारत भ्रमणमा कस्ले स्वागत गर्यो, कसरी गर्यो भनेर नेपालमा ठुलो बहस सिर्जना भएको देखियो । अझ भैसी लिएर आएको भनेर संसदमा प्रतिपक्षीहरुले त रोइलो नै गरे । कि त भारतले नेपालको सार्वभौम देशको मान्यतामाथि प्रश्न उठाएको अवस्था हुनुपर्यो अन्यथा प्रधानमन्त्रीलाई औपचारिक भ्रमणमा बोलाईसकेपछि पक्कै पनि भारतले आफ्नो प्रचलनअनुसारको स्वागत र अन्य कार्यक्रमहरु गर्छ । प्रधानमन्त्रीका विपक्षीहरुलाई भारतले प्रचण्डलाई महत्व नदिए हुने भन्ने मानसिकताबाट प्रेरित भैसी गफहरुले नेपालप्रति भारतको दृष्टिकोण र सम्बन्ध सकारात्मक होला त? प्रधानमन्त्रीको भारत भ्रमणमा विषयमा गरिएका बहस होस वा भारतीय संसद भवनमा राखिएको अखण्ड भारतको नक्साको विषयमा भएको बहस हेर्दा हामी नेपाली आफ्नो राष्ट्रियता र सार्वभौमिकता संशय गरिरहन्छौ, कमजोर छौ भनेर प्रमाणित गर्दैन र !

नेपाली समाज यसरी क्षयीकृत भइरहेको छ की उसलाई आफ्नोले गरेको हरेक कदम उपयुक्त लाग्छ र विपक्षीले गरेका हरेक कदम देशघाती लाग्दछ । बालेनले राखेको नक्सामा पनि समर्थकहरु यसरी यसरी प्रस्तुत भईरहेका छन की अब बालेनले टिस्टा र काँगडा नै फिर्ता ल्याउँछन, विपक्षीहरु यसरी बहस गर्दै छन की  ग्रेटर नेपालको नक्सा राख्नु भनेको पोइल गईसकेकी श्रीमतीको तस्बीर फ्रेम गरेर राख्नु हो । यसै बीचमा नागरिकता विधेयकको संसोधन पनि राष्ट्रपतिले प्रमाणीकरण गरे सामाजिक संजाल हेर्दा लाग्छ यही संसोधनले अब देश फिजी नै बन्छ ।

नेपाल नागरिकता एन 2063 लाई संसोधन गरेर संविधानमा भएको ब्यवस्था अनुरुपको जन्मसिद्धका सन्तानलाई वंशज र गैरआवासीय नेपाली नागरिकताको ब्यवस्था मिलाईएको हो भन्ने कुरा संविधान दिवसमा दीप प्रज्वलन गर्ने तर नागरिकता संसोधन विधेयकको विरोध गर्ने कथित राष्ट्रवादीहरुले कहिले बुझ्लान?  जबकी अङ्गीकृत नागरिकताको लागि समयावधि राख्ने नराख्ने भन्ने कुरा संसोधनमा चलाईएकै छैन। संसदमा त्यसको संसोधनका लागी संसदमा गैरसरकारी विधेयक राख्न पाउने व्यवस्था पनि छ क्यारे । यस्ता कैयौं मुद्दाहरुमा हामीसँग कुनै स्पष्ट धारणा छैन, अध्ययन छैन, छ त केबल फेसबुक छ, ट्वीटर छ, पार्टी छ, नेता छ  र हामीसँग छ “दोगलापन”। नेपाली समाजलाई मिल्दो उखान बनेको छ “आपुन करे तो लिला, और करें तो क्यारेक्टर ढिला।”

सम्बन्धित समाचार