नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिदै छ । यस अवसरमा विभिन्न स्थानमा तिज गित प्रतियोगितादेखि महोत्सव समेत सञ्चालन हुन थालेका छन् ।
तिज पर्वकै अवसर पारेर रुपन्देहीको सैनामैना नगरपालिकामा पनि आजदेखि तिज महोत्सव सुरु भएको छ ।
नगरको वडा नं. ६ मा रहेको दुधराक्ष युवा क्लव र उमंङ्ग म्युजिक प्रा.लिको आयोजनामा उक्त महोत्सव सुरु भएको हो । एक कार्यक्रमका बिच महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फणेन्द्र प्रसाद शर्माले तिज महोत्सवले सैनामैनावासीलाई प्रोत्साहित गर्न सफल भएको बताउनुभयो ।
उहाँले पारिवारिक सुख शान्तिका लागि महिलाले पुरुषका लागि र पुरुषले महिलाका लागि मनाइने एक धार्मिक चाड भएकोले यसको संरक्षण गर्न आवश्यक रहेको औल्याउनुभयो ।
नगरको विकासका लागि यहाँ युवा क्लवहरुको भूमिका अतुलनीय रहेको बताउँदै सामाजिक कामका लागि पालिका सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो ।
विशिष्ठ अतिथि पूर्व नगर प्रमुख चित्र बहादुर कार्कीले अहिले तिजको पर्वको महत्व बढ्दै गएको बताउनुभयो । उहाँले कला संस्कृतिलाई जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल, वडा नं. ६ का वडाध्यक्ष गोपाल पोखरेल , नेपाली कांग्रेस नगर सभापति रणबहादुर खनाल, नेकपा एमाले नगर कमिटि अध्यक्ष चेत नारायण न्यौपाने, आरके ग्लास एण्ड हार्डवेयरका सञ्चालक ऋषिराम पाण्डे लगायतले बोल्दै नेपाली महिलाहरुको पर्व हरितालिका तिजलाई संरक्षण गर्नुपर्नेमा जोड दिदैँ भड्किलो नभई सामान्य तरिकाले तिज पर्व मनाउनुपर्ने बताए ।
उनीहरुले नेपालीहरुका कला संस्कृतिलाई जोड्दै यस क्षेत्रको विकास गर्नुपर्ने बताए । यस क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना समेत रहेको धारणा व्यक्त गरे ।
कार्यक्रम क्लवका अध्यक्ष किरण पोखरेलको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, नगर उपप्रमुख विना राना, पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल लगायतको विशिष्ठ आतिथ्यतामा भएको हो ।
भदौ १४ गते सम्म सञ्चालन हुने महोत्सवको व्यवस्थापन जय माता दि एम्युजमेन्ट प्रा.लिले गरेको छ ।
कार्यक्रमको सञ्चालन क्लवका सचिव पदम पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा विभिन्न टोल विकास संस्था, झाँकी, बाजासहित आमा समूहको पनि सहभागिता थियो ।
महोत्सवमा पर्यटन प्रवर्द्धन गोष्ठी, उत्पादित वस्तुको खरीद बिक्री,दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरीद विक्री,बालउद्यान हुनेछ भने राष्ट्रिय स्तरको हास्यव्यङग्य तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुत रहनेछ ।
शुक्रबार लोक तथा दोहोरी गायक कुलेन्द्र वि.क,लोक तथा दोहोरी गायिका आरती रुचाल र हास्यव्यङग्य कलाकार विष्णु जि पाण्डे माइलाबा को प्रस्तुती रहनेछ । साथै महोत्सवमा बालउद्योन,अन्र्तमावि तथा खुल्ला तिज गित प्रतियोगिता,डान्सीङ आइडल समेत हुने जनाइएको छ ।कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष सुनिल पोख्रेलको स्वाग त मन्तब्य तथा कार्यक्रमको सन्चालन क्लबका सचिब पदम पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्