स्वास्थ्यसमाचार
अस्वस्थकर (जङ्कफुड) खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जङ्कफुड खुवाइरहेका छन् ।
सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जङ्कफुड खुवाइरहेको एक अध्ययनले देखाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा हेलन केलर इन्टरनेशनले सार्वजानिक गरेको एक अध्ययनअनुसार उपत्यकाका १२ देखि २३ महीनाका ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइएको थियो ।
सो अध्ययन १८ बालबालिकामा गरिएको हेलन इन्टरनेशनलमा कार्यरत डा अतुल उपाध्यायले जानकारी दिए । ती बालबालिकाका पोषणको अवस्था जानकारी लिन पाखुराको नाप, उचाइ, तौल तथा रगत परीक्षण गरिएको थियो । “सर्वेक्षणबाट ७५ प्रतिशत बालबालिकाले अस्वस्थकर खाजा खाइरहेको पाइयो । उमेर अनुसार गुणस्तरीय, पर्याप्त मात्रा विविध प्रकार र सुरक्षित पौष्टिक आहार खान पाएका बालबालिकाको सङ्ख्या न्यून रहेको देखिन्छ”, उनले भने ।
प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स थोरै पाइने खानालाई जङ्कफुड भनिन्छ । पछिल्लो नेपाल जनसाङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार करीब ४६ प्रतिशत गर्भवती महिला तथा ५३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका रक्तअल्पताबाट प्रभावित रहेका छन् ।
यसैगरी शिशु तथा बाल्यकालीन पोषणको सिफारिस गरेअनुसार पौष्टिक खाना खान नपाएका बालबालिकाको सङ्ख्या ४७ प्रतिशत मात्र रहेको छ । यसैबीच स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले पोषणमा सरकारको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएको छ । पोषण पैरवीसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा महाशाखाका प्रमुख चिकित्सक आर पी विच्छाले आमाको दूध प्रतिस्थापना गर्ने वस्तुको बिक्री वितरणलाई निषेध गर्नेसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याए ।
मन्त्रालयले सन् १९९२ मा सो ऐन जारी गरेको थियो । उनले भने, “पोषणस्थितिमा सुधार ल्याउन आमाले शिशु जन्मेको ६ महीनासम्म निरन्तर दूध खुवाउनुपर्छ ।” प्रोटिन, कार्बाेहाइड्रेड, क्यालोरी, मिनरल्स तथा सुक्ष्म पोषकतत्वको कमीलाई न्यून पोषण तथा असन्तुलित खानपान, निष्क्रिय जीवनशैलीका कारण अधिक तौल हुनुलाई अधिक पोषण भनिन्छ ।
नेपालमा न्यून पोषण र अधिक पोषण दुवै खालका समस्या रहेको कार्यक्रममा जानकारी दिइयो । न्यून पोषणले बालबालिकामा पुड्कोपन, ख्याउटे तथा कम तौल भएका समस्या तथा अधिक पोषणले मधुमेह, रक्तचाप जस्ता समस्या देखा पर्दछन् ।
कार्यक्रममा महाशाखाका पोषण शाखाका प्रमुख केदार पराजुलीले बालबालिकामा पोषणको अवस्थालाई सुधार ल्याउन आगामी दिनमा सरकारले थप लगानी बढाउन आवश्यक रहेकोमा जोड दिए ।
पाँच वर्ष अगाडि बालबालिकालाई पोषणयुक्त खाना ख्वाएमा पुड्कोपनबाट मुक्त गर्न सकिन्छ । गर्भधारणदेखि दुई वर्षसम्मको उमेर बीचमा बालबालिकामा पुड्कोपनको बीजारोपण हुन्छ । अर्काेतर्फ नवजात शिशुमध्ये करीब ५५ प्रतिशतले मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध र ६६ प्रतिशतले ६ महीनासम्म आमाको दूध खुवाएको पाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्