मुख्य समाचार

सैनामैनाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत : कृषि,स्वास्थ्य,शिक्षा र पुर्वाधार विकासलाई प्राथमिकता

सुरेश परियार,जेठ ३१ गते ।सैनामैना नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको नवौँ अधिवेशनले आ.व २०८३÷०८४का लागी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि,स्वास्थ्य,शिक्षा,पुर्वाधार विकासलाई प्राथमिकता दिएको हो ।नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले आईतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनमुखी भएको जनप्रतिनिधिको दाबी रहेको छ । प्रस्तुत नीति तथा कार्यक्रमले आगामी वर्षका लागी प्राथमिकता दिईएका क्षेत्रहरु यसप्रकार छन् ः

  1. सैनामैना नगरपालिकाको अनुरोधमा संघीय सरकारको नीति बमोजिम नगरवासीहरुको सहजता र सुविधाको लागि भूमि प्रशासन कार्यालयबाट हुँदै आएको जग्गा प्रशासन सम्बन्धी कार्य नगरपालिकाबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। यस कार्यको लागि जनशक्ति, पूर्वाधार र प्रविधि समेतको व्यवस्था मिलाइएकोले भूमि प्रशासन सम्वन्धी सम्पूर्ण कार्य नगरपालिकाबाट नै  यथाशीघ्र सञ्चालन गरिनेछ।
  2. नापी कार्यालयसँगको समन्वयमा नगर क्षेत्र भित्रका नक्सा र फिल्ड नमिलेका बिभिन्न स्थानका पून: नाँपजाँच भएका जग्गाको नापी सम्वन्धी कार्य सम्पन्न गरिनेछ । नगर क्षेत्र भित्र वसोवास गर्ने भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको हालसम्म नाँपजाँच सम्पन्न भएका क्षेत्रको जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र वितरण तथा वाँकी क्षेत्रका जग्गाको नापजाँच कार्यलाई अगाडी बढाउन संघीय सरकारको समन्वयमा सहजीकरण र सहकार्य गरिनेछ।
  3. पशु स्वास्थ सेवालाई प्राथमिकता दिदै पशुपन्छीजन्य रोगहरु नियन्त्रण गर्न बिशेषज्ञ सहितको पशु स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। सामुदायिक कुकुरहरुमा लाग्ने रेबिज नियन्त्रण गर्नका लागि खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिनेछ।
  4. जनावरको टोकाइबाट लाग्ने रेविज रोगको रोकथामका लागि सैनामैना आधारभूत अस्पतालमा सञ्चालित एन्टी रेविज भ्याक्सिन सेवालाई थप व्यवस्थित बनाउँदै लगिनेछ ।
  5. नगरपालिकाको “उत्पादन साथमा, अनुदान हातमा” भन्ने अभियानलाई निरन्तरता दिदै दूध र मासु उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान वितरण, लागत सहभागितामा आधुनिक यन्त्रहरुको वितरण, कृषकहरुको ज्ञान र सिपको आभिबृद्धि गर्न पशुपालन सम्बन्धी तालिम कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ। दूधजन्य उत्पादनलाई वृद्धि गर्न सेक्स सिमेनको प्रयोगबाट कृत्रिम गर्भाधान, भैंसी प्रबर्द्धन लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ। साथै दूध र मासुजन्य उत्पादनमा लागत कम गर्न हिउँदे, बर्षे, घाँसको वीउ वितरण कार्यलाई निरन्तरता दिईनेछ ।
  6. कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषि प्रणालीलाई आधुनिकिकरण गर्न किसानसँगको लागत साझेदारीमा यान्त्रिकरणको व्यवस्था मिलाइनेछ।
  7. तेलहन, दलहन र पुराना रैथाने वालीको उत्पादनलाई प्राथमिकता दिनुको साथै नगर भित्र चैते धान प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ। लागत साझेदारीमा प्लाष्टिक रोल व्यवस्थापन र वालीहरुमा लाग्ने रोग, किरा व्यवस्थापनको लागि जैविक विषादी, रासायनिक विषादी र सुक्ष्म तत्व निशुल्क वितरण गरिनेछ ।
  8. व्यवसायिक रुपमा आलु उत्पादन गर्ने कृषकहरुको उत्पादित वाली चिस्यान केन्द्रमा राख्ने प्रवन्ध मिलाइनेछ। करेसावारी व्यवस्थापनका कार्यक्रमलाई निरन्तरता दिइनेछ। व्यवसयिक कृषक छनोट गरी वाली उत्पादन प्रदर्शन कार्यक्रम सञ्चालन गरिनेछ ।अर्गानिक वाली उत्पादन गर्ने उद्देश्यका साथ कृषक पाठशाला, वाली उपचार शिविर, माटो स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिनेछ ।
  9. विभिन्न वालीमा लाग्ने रोग किरा सम्वन्धी जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ। भर्मी कम्पोष्ट, जैविक मल र एजोला खेती गर्ने कृषक, ब्यवसायिक रुपमा माहुरी पालन गर्ने कृषक र युवाहरुलार्इ कृषि पेशामा आवद्ध गर्न मागमा आधारित वाली तथा तरकारी, फलफूल, आलु र फुल लगाउने कृषकहरुलार्इ उत्पादनको आधारमा प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायिक फलफूल खेती कार्यक्रम, तरकारीमा पकेट विकास कार्यक्रम सञ्चालन गरिनेछ । साथै लागत साझेदारीमा रुदिलो नर्सरी स्थापना गरिनेछ ।
  10. मागमा आधारित कम्पोष्ट मल, बेमौसमी तरकारी, माहुरी पालन, फलफुल खेती र कौशी खेती सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ । व्यवसायिक रुपमा तरकारी, फलफुल खेति र नर्सरी स्थापना गर्ने कृषकहरुलार्इ वीउ र टनेल निर्माणमा सहयोग गरिनेछ। विभिन्न वालीमा हुने क्षती न्यूनीकरणको लागि वाली विमा कार्यक्रम सञ्चालन गरिनेछ ।
  11. नगरभित्रका कृषियोग्य भूमिमा दिगो सिँचाइ सुविधा पुर्‍याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिको आधार: सिँचाइमा सुधार  भन्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। स्रोतको पहिचान गरी सतह तथा  भूमिगत सिँचाइ प्रणालीको विकास र विस्तार गरिनेछ।
  12. सहकारीहरूको नियमनलाई निरन्तरता दिँदै संस्थागत सुशासन, लगानीको सुरक्षा तथा पारदर्शी उपयोग सुनिश्चित गरिनेछ। सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पालना गराउन अनुशिक्षणलाई निरन्तरता दिईनेछ।
  13. बेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन तथा विश्लेषण गरी रोजगार सूचना व्यवस्थापन प्रणालीमा बेरोजगारको सूची अद्यावधिक र व्यवस्थित गरिनेछ। स्थानीय बेरोजगार नागरिकलाई रोजगारमा पहुँच पुर्याइनेछ।
  14. युवा, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा बेरोजगार नागरिकलाई लक्षित गरी स्थानीय स्रोत, साधन र सम्भावनामा आधारित सीपमूलक तथा रोजगारमुखी उद्यमशिलताका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  15. नगरपालिका भित्र रहेका उद्योग तथा व्यवसायहरुको प्रोफाइल तयार गरिने छ। उद्योगी, व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी सीप विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिइनेछ।
  16. नगरपालिका र सामूदायिक वन उपभोक्तासँगको लागत साझेदारीमा पूर्वाधार निर्माण, उद्यमशिलता तथा जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  17. वैदेशिक रोजगारीलार्इ सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमलाई निरन्तरता दिदै वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको ज्ञान, सीप र पूँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न पूनः एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
  18. वैदेशिक रोजगारीमा गर्इ बिरामी भएका, अलपत्र परेका, अङ्गभङ्ग भएमा स्वास्थ्य उपचार तथा उद्धार र मृत्यु भएमा शव झिकाउन, वैदेशिक रोजगार सन्तती छात्रवृत्ति र आर्थिक सहायताको लागि बैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा सहजिकरण गरिनेछ ।
  19. बजारको मागका आधारमा डिजिटल सीप, सूचना प्रविधि तथा नवप्रवर्तनमा आधारित उद्यम विकास तथा सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  20. सैनामैना आधारभूत अस्पतालमा विशेषज्ञ सहितको सेवा सञ्चालन गरिनेछ । साथै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट नगरवासीहरुलाई गुणस्तरीय रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
  21. मातृ तथा नवजात शिशु स्वास्थ्यको जटिलता समयमा पहिचान गरी उपचारको दायरामा ल्याउन नि:शुल्क भिडियो एक्स-रे र प्रोटोकल अनुसारको गर्भ जाँचको व्यवस्था मिलाइने छ । स्वास्थ्य संस्थामा पूर्ण रुपमा सुत्केरी हुने व्यवस्था मिलाई नगरपालिकालाई शुन्य होम डेलिभरी नगरपालिका घोषणा गरिनेछ ।
  22. सुत्केरी तथा नवजात शिशुहरुको लागि स्वास्थ्य, पोषण र सरसफाई प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ। महिला, बालबालिका, किशोरकिशोरी सबैको पोषण अवस्था सुधार गरी पोषणमैत्री स्वास्थ्य संस्था र पोषणमैत्री स्थानीय शासन नगरपालिका_ घोषणा गरिनेछ।
  23. पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, मनोसामाजिक स्वास्थ्य समस्या लगायत नसर्ने रोगको स्क्रिनिंग तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  24. ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, अति गरीव तथा विपन्न नागरिकहरुलाई रुपन्देही जिल्ला भित्रका स्वास्थ्य संस्थामा जानको लागि निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
  25. थारु समुदायमा मात्र हुने वंशाणुगत रोग सिकलसेल एनिमिया तथा थालसेमियाको समयमा पहिचान गर्नको लागि स्क्रिनिंग, जनचेतनामूलक कार्यक्रम र सिकलसेल विरामीका परिवारलाई नि:शुल्क स्वास्थ्य विमाको व्यवस्था मिलाइनेछ ।
  26. क्यान्सर, मुटुरोग, मृगौलारोग, गम्भीर चोटपटक लगायतका विभिन्न स्वास्थ्य समस्या भएर आर्थिक अभावमा स्वास्थ्य संस्थामा जान नसकेका विपन्न नागरिकलाई स्वास्थ्य संस्थासम्म पुगेर जाँच तथा उपचार गराउन आवश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।
  27. स्वास्थ्य उपचारमा नागरिकको तर्फबाट हुने खर्चलाई न्यूनीकरणका लागि स्वास्थ्य वीमामा दर्ता नभएका व्यक्तिलाई स्वास्थ्य वीमाको पहुँचमा ल्याउन आवश्यक प्रबन्ध मिलाइनेछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सर्पदंश उद्धारकर्तालाई निशुल्क स्वास्थ्य वीमाको व्यवस्था मिलाइनेछ । साथै सैनामैना आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सम्वन्धी सेवा प्रदानको लागि आवश्यक व्यवस्था मिलाइनेछ।
  28. क्षयरोग र कुष्ठरोगका विरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउनको लागि स्क्रिनिंग शिविरहरु सञ्चालन गरिनेछ र नगरपालिकालाई क्षयरोग तथा कुष्ठरोग मुक्त बनाइनेछ ।
  29. किशोरीहरूमा रक्तअल्पता परीक्षण, साप्ताहिक आइरन फोलिक एसिड खुवाउने कार्यलाई प्रभावकारी बनाउदै लगिनेछ साथै सबै स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरिनेछ।
  30. नगरवासीहरुलाई वैकल्पिक चिकित्सा उपचार पद्धतिबाट गरिने उपचारको लागि सैनामैना प्राकृतिक चिकित्सा केन्द्रसँग गरिने सहकार्यलाई निरन्तरता दिईनेछ।
  31. निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुसँग सहकार्य गरी स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ । रुपन्देही जिल्लाका अस्पतालहरुमा उपचाररत सैनामैना नगरपालिकाका नागरिकलाई रगत तथा रगतजन्य वस्तु नि:शुल्क र सहज रुपमा उपलव्ध हुने व्यवस्था मिलाइनेछ ।
  32. गर्मी याममा तातो हावा र जाडो याममा हुने शीतलहरको कारणले उत्पन्न हुने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न आवश्यक नीति अवलम्वन गरिनेछ।अत्याधिक वायु प्रदुषणका कारण नवजात शिशु, गर्भवती महिला, जेष्ठ नागरिक लगायत आम जनमानसमा हुने असरलाई न्यूनीकरण गर्न स्वच्छ हावा सम्वन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  33. राष्ट्रिय पाठ्यक्रम प्रारुपले तोके बमोजिम सैनामैना नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण भइ कार्यान्वयनमा गइसकेको छ।उक्त पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पाठ्यपुस्तकको लेखन र शिक्षकहरुलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
  34. सवै सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरी सम्पूर्ण शिक्षक तथा कर्मचारीको डिजिटल हाजिरी गर्ने व्यवस्था मिलाई उक्त हाजिरीको नगरपालिकाबाटै अनुगमन गर्ने व्यवस्था मिलाईनेछ ।
  35. सामुदायिक विद्यालयका कक्षा कोठाहरुलाई सूचना प्रविधी,  विद्यार्थीमैत्री र शिक्षण सिकाइ अनुकूल वनाउनुका साथै विद्यालयका वालविकास केन्द्रहरुको व्यवस्थापनलाई थप सवलीकरण गरिनेछ।
  36. नगर भित्र सञ्चालित सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यबस्थापन समिति र सरोकारवालाहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।
  37. विद्यालयमा कार्यरत महिला शिक्षकहरु कानून बमोजिम प्रसूति विदामा बसेको अवस्थामा विद्यार्थीहरुको पठन पाठनमा हुने क्षतिलाई कम गर्न निजको स्थानमा स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  38. सामुदायिक विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड उपलव्ध गराइनुका साथै कक्षा १ देखि ५ सम्मका छात्र छात्रालाई पोषणयुक्त दिवा खाजा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ।
  39. संघीय सरकार मार्फत सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित, अपाङ्ग र विपन्न विद्यार्थीलाई दिइँदै आएको  छात्रवृतिलाई निरन्तरता दिइनेछ । संस्थागत विद्यालयले नियमानुसार प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई एकरुपता कायम हुने गरी व्यवस्थित गराइनेछ।
  40. विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न विविध प्रतियोगिताहरु सञ्चालन गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै प्रभावकारी कार्यसम्पादन गर्ने उत्कृष्ट शिक्षक र विद्यालयलाई निश्चित मापदण्डका आधारमा सम्मान गरिनेछ।
  41. सामुदायिक विद्यालयहरुमा रहेको शिक्षक दरवन्दीलाई विद्यार्थी संख्याका आधारमा पुनरावलोकन गरिनेछ। संस्थागत विद्यालयहरुको वर्गीकरणका लागि आवश्यक कार्यविधि निर्माण गरी विद्यालय वर्गीकरण गरिनेछ र सो वर्गीकरणका आधारमा संस्थागत विद्यालयले लिने शुल्कमा एक रुपता कायम गरिनेछ।
  42. आ.व. 084/085 मा नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्न प्रथम चरणमा आ.व. 083/84 मा न्यूनतम चारवटा वडालाई वालमैत्री वडा घोषणा गरिनेछ। नगरपालिका भित्र रहेका बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी वालमैत्री नगरको रुपमा विकास गराउन वालवालिकासँग नगर प्रमुख कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  43. अभिभावक विहिन वालवालिकाको लागि पारिबारिक पुनर्मिलन, सामाजिक पुनर्स्थापना र वैकल्पिक हेरचाहको ब्यबस्था मिलाईनेछ।
  44. नगर वाल सञ्जाल, वाल क्लब र किशोरी सञ्जाललाई क्रियासिल बनाई उनीहरुका समस्या समाधानमा अग्रसर बनाइनेछ। वाल विवाह, बाल श्रम, बाल यौन दुर्व्यबहार तथा दुर्व्यसनी सम्बन्धी दुर्व्यसनी सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
  45. नगर भित्रका विद्यालयको नियमित सरसफाइ र स्वच्छतालाई निरन्तरता दिई उत्कृष्ट विद्यालयलाई नगर शिक्षा समितिको सिफारिसमा सम्मान गरिनेछ।
  46. नगर भित्र सञ्चालन हुने सबै किसिमका खेलहरुलाई एकद्वार प्रणालीवाट कार्यान्वयन हुने गरी नगरस्तरीय खेलकूद समितिद्वारा सञ्चालन गरिनेछ।
  47. लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितताको लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ। द्वन्दपिडित, एकल र विपन्न महिलाहरुका लागि उद्यमशिलता तथा स्वरोजगार सम्बन्धी सीप विकास, हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श, पूनस्थापना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  48. अपाङ्गता सम्बन्धी अधिकार, सुविधा र अवसर सम्वन्धी आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै नगर भित्रका अपाङ्गताको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरुको समन्वय र गैर सरकारी संस्थाहरुको सहयोगमा सेतो छडी, श्रवण यन्त्र, ह्वीलचेयर, व्रेल जस्ता सहायक उपकरण वितरणको प्रवन्ध मिलाइनेछ र उनीहरुको मागको आधारमा सीप विकास, उद्यमशिलता क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
  49. जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षाको माध्यमबाट दीर्घ जीवन जिउनका लागि नियमित स्वास्थ्य परीक्षण तथा सम्मान र सामाजिक सेवा प्राप्त गर्ने अवसर मिलाइनेछ ।
  50. भेदभावमुक्त समाजको आधार, समान अवसर र आत्मनिर्भर जीवनको विस्तार” भन्ने अभियानलाई आत्मसाथ गरी जातीय भेदभाव तथा छुवाछुतमुक्त, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। संविधान प्रदत्त समानता, मानव अधिकार तथा सामाजिक न्यायका मूल्य मान्यताबारे नागरिकहरूलाई सचेत गराउँदै भेदभावपूर्ण व्यवहार अन्त्य गर्न समुदायस्तरमा विभिन्न अभियानहरू सञ्चालन गरिनेछ। साथै दलित तथा लक्षित समुदायहरूको सामाजिक, आर्थिक सशक्तीकरणका लागि सीप विकास, आयआर्जन, उद्यमशीलता प्रवर्द्धन, स्वरोजगार तथा जीविकोपार्जन सुधार सम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गरिनेछ।
  51. महिलासँग उपप्रमुख कार्यक्रमको माध्यमबाट समाजमा आर्थिक रुपले पछाडि परेका महिलाहरुलाई सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै तालिम प्राप्त महिलाहरुलाई उद्यमशील बनाउन प्रविधि हस्तान्तरण तथा उत्पादित सामाग्रीहरुको बजारीकरणको लागि कोसेली घर सञ्चालनको ब्यवस्था मिलाइनेछ ।
  52. नगरपालिकामा सञ्चालित स्थानीय विकास कोष कार्यक्रम अन्तर्गत संगठन, बचत सीप  विकासको माध्यमबाट समुदायमा रहेका महिला, दलित, आदिबासी जनजाति, विपन्न तथा पिछडिएका व्यक्तिहरुलाई सामाजिक, आर्थिक  शसक्तिकरणको लागि चेतनामूलक, क्षमतामूलक र सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  53. स्थानीय विकास कोष कार्यक्रम विस्तार गर्न वाँकी रहेका क्षेत्रमा सामुदायिक संस्थाहरु गठन र परिचालन गरिनेछ र सामुदायिक संस्थामा ऋणपूँजी/विउपूँजी लगानीको माध्यमबाट सदस्यहरुलाई विभिन्न आयमूलक व्यवसाय सञ्चालन गरी स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गरिनेछ ।
  54. जिल्ला भित्रका स्थानीय तहहरु वीच अनुभव आदान प्रदान गर्नको लागि अन्तरपालिका समन्वय गरिनेछ। नगरको समग्र विकासमा संघ, प्रदेश र नगरपालिका बीच अन्तर तह समन्वय र सहकार्य गरिनेछ। सडक पूर्वाधार, शैक्षिक सुधार, फोहरमैला व्यवस्थापन,  विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालन, छाडा चौपाया व्यवस्थापन लगायतका विषयमा लागत साझेदारीको आधारमा कार्य गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
  55. सैनामैना वडा नं. १ देखि 9 सम्मको निर्माण हुन बाँकी रहेको चक्रपथको खण्ड, निर्माणाधीन औद्योगिक ग्राम, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, वडा नं. १ मा प्रदेशस्तरको ज्येष्ठ नागरिक ग्राम र वडा नं. ९ मा यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टर जस्ता नगरका दीर्घकालीन महत्त्व बोकेका ठूला तथा बहुवर्षीय आयोजनाहरूको संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यमा निर्माण कार्य सम्पन्न गरिनेछ।

 

  1. ऐतिहासिक सैनामैना क्षेत्र, पर्रोहा परमेश्वर बोलबम धाम, मलमला क्षेत्र, शैलपुत्री, वोलवम पार्क, फुलवारी पार्क, महेरवादेवी, भैरवस्थान, पानवारी क्षेत्र, राजापानी, कोटियामाई क्षेत्र लगायत ऐतिहासिक,  पुरातात्विक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने र विगतमा शुरु गरिएका पर्यटन पूर्वाधार निर्माणका कार्यहरूलाई प्राथमिकता दिइ पर्यटकीय गन्तव्यको रूपमा विकास गरिनेछ । साथै पर्यटन पोर्टल सञ्चालन, पर्यटन सूचना केन्द्र स्थापना, पर्यटक गाइड उत्पादन, परम्परागत मेला महोत्सवको संरक्षण गरी पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

 

  1. विगतमा निर्माण कार्य प्रारम्भ भई सम्पन्न गर्न बाँकी रहेका वडा कार्यालयहरु, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका भौतिक पूर्वाधारका योजनाहरूलाई पूर्णता दिन प्राथमिकता दिइनेछ। साथै नगरपालिकामा सञ्चालित दुईवटा क्याम्पसको शैक्षिक तथा पूर्वाधार विकासका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिनेछ।

 

  1. अधुरा र मर्मत सम्भारको अभावमा सञ्चालनमा आउन नसकेका भौतिक पूर्वाधारहरूमा गरिएको लगानीको प्रतिफल सुनिश्चित गर्न र सम्पत्ति संरक्षण गर्न ‘अधुराः गर पूरा‘ को विशेष नीति लिइनेछ। साथै यस अन्तर्गत लोकमार्गको वैकल्पिक सडकका रुपमा सञ्चालनमा रहेका नगर क्षेत्रभित्रका विभिन्न भित्री सडक, अधुरा र जीर्ण भौतिक पूर्वाधारहरूको निर्माण सम्पन्न तथा स्तरउन्नतिका लागि मर्मत सम्भार कोष मा आवश्यक स्रोतको व्यवस्थापन गरिनेछ।

 

  1. उज्यालो शहरः सैनामैनावासीको रहर भन्ने नारालाई पूर्णता दिन नेपाल विद्युत प्राधिकरणसँगको सहलगानीमा विगतदेखि शुरु गरिएको नगरका मुख्य तथा सहायक मार्गहरूमा स्मार्ट सडक बत्ती (Smart Street Light) जडान गर्ने कार्यलाई शीघ्र सम्पन्न गरिनेछ। सैनामैना 4 मुर्गियामा रहेको विद्युत फ्युज सेवालाई वितरण केन्द्रको रुपमा स्तरोन्नती गर्न विद्युत प्राधिकरणसँग आवश्यक पहल गरिनेछ ।

 

  1. नगरमा निर्मित भू-उपयोग योजना बमोजिम जग्गा विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ र आवास वा वजार क्षेत्रमा वस्ति विकास गर्दा सडक, खानेपानी, विद्युत जस्ता आधारभूत पूर्वाधार अनिवार्य तयार गर्नुपर्ने व्यवस्था मिलाईनेछ ।

 

  1. नगर क्षेत्रभित्र सडक दुर्घटना न्यूनीकरण गर्न र सुरक्षित तथा प्रविधिमैत्री बनाउन तथा मुख्य सडकहरुमा आवागमनलाई व्यवस्थित बनाउन सडकको दायाँबायाँ तथा मुख्य चोकहरूमा अनिवार्य रूपमा आवश्यक ट्राफिक संकेतहरू (Traffic Signs), सडक मार्किङ (Road Markings), ट्राफिक पोस्टहरू (Posts) र दिशा निर्देशनात्मक बोर्डहरू राखिनेछ। साथै पैदलयात्री र साइकल यात्रीका लागि सुरक्षित पूर्वाधार (Walkway र Cycle Lane) निर्माण गरिनेछ।

 

  1. नगरमा सदियौंदेखि बसोबास गर्दै आएका आदिवासी थारु समुदायको ऐतिहासिक पहिचान, संस्कृति, जीवनशैलीको संरक्षण र आवश्यक पूर्वाधार विकास गर्न सञ्चालित उज्यालो नमूना थारु गाउँ अभियानलाई यसै बर्ष सम्पन्न गरिनेछ। यसका लागि निर्माण हुन बाँकी रहेका बस्तीहरूमा सडक तथा नाली निर्माण गर्ने, सडक बत्ती जडान गर्ने, टायल बिछ्याउने र वृक्षारोपण गर्ने जस्ता कार्यहरू गरिनेछ। ती बस्तीहरूलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बस्तीका घरहरूका भित्ता तथा पर्खालहरूमा आकर्षक ‘थारु सांस्कृतिक चित्रकला (Tharu Community Cultural Paintings)’ निर्माण गर्ने, होमस्टे सञ्चलन गर्ने जस्ता कार्यलाई प्राथमिकता दिइनेछ।

 

  1. नगर क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट संकलन गरिने नदीजन्य पदार्थको उत्खनन तथा निकासीलाई पारदर्शी र व्यवस्थित बनाइनेछ। प्राकृतिक स्रोतको उत्खननबाट सम्बन्धित स्थानीय समुदायमा पर्न सक्ने वातावरणीय तथा भौतिक (सडक आदि) असरलाई सम्बोधन गर्न नदीजन्य पदार्थ निकासीबाट प्राप्त हुने आन्तरिक राजस्वको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रूपमा उत्खनन प्रभावित सम्बन्धित वडाकै नदीजन्य पदार्थ निकासी सडक एवं तटबन्धमा लगानी गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
  2. नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना तथा नगरको ठूलो एवं रणनैतिक आयोजनाको रूपमा रहेको शहरी उत्थानशीलता र जीवनस्तर सुधार आयोजना अन्तर्गत सैनामैना चक्रपथको सालझण्डी खण्डमा सहरी आवागमन सुधार, व्यवस्थित ढल निकास, सुरक्षित पैदल मार्ग र बजारको सहज पहुँच विस्तारका कार्यहरु सञ्चालन गरिनेछ। एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा संघीय सरकारको अनुदान, नगर विकास कोषको सहुलियत ऋण र सैनामैना नगरपालिकाको लागत साझेदारीमा सञ्चालनमा रहेको यस आयोजनालाई तोकिएको समयमै सम्पन्न गरिनेछ।

 

  1. सैनामैना वडा नं. ४ मा निर्माण सम्पन्न भएको फूटबल रङ्गशालाको दिगोपना र व्यवस्थित रुपमा सञ्चालन गरिनेछ। रङ्गशालाको सञ्चालन, मर्मत सम्भार, रेखदेख र नियमित उपयोगको सम्पूर्ण जिम्मेवारी ‘नगर स्तरीय खेलकुद विकास समिति’ लाई हस्तान्तरण गरिनेछ। रङ्गशालालाई स्थानीय प्रतियोगिता, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, महिला तथा वालमैत्री अभ्यास र प्रशिक्षण केन्द्रको रूपमा उपयोग गरिनेछ।

 

  1. वडास्तरबाट छनौट तथा कार्यान्वयन हुने योजनाहरूलाई प्रभावकारी, परिणाममुखी र गुणस्तरीय बनाउन खुद्रे र साना टुक्रे योजनाहरूमा बजेट छरिने प्रवृत्तिलाई निरुत्साहित गर्दै मर्मत सम्भारका योजनाहरू बाहेक अन्य वडास्तरीय योजनाहरूमा न्यूनतम सीमा कायम गर्ने नीति लागू गरिनेछ।

 

  1. नगरपालिका भित्र रहेका छाडा चौपाया लगायत जङ्गली जनावरहरू (नील गाई, बाँदर, बँदेल आदि) बाट कृषि बाली तथा जनधनमा हुने क्षति न्यूनीकरण गर्न डिभिजन वन कार्यालय र सामुदायिक वनहरूसँग आवश्यक समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिनेछ। छाडा चौपाया व्यवस्थापनमा अन्तर तह साझेदारी अवधारणालाई प्रवर्द्धन गर्दै बाणगंगा नगरपालिकाबाट सञ्चालित छाडा चौपाया व्यवस्थापन केन्द्र मार्फत व्यवस्थापन गरिनेछ ।

 

  1. नगर भित्र रहेका सार्वजनिक, ऐलानी जग्गाहरुलाई व्यवस्थित र सौन्दर्यीकरणका लागि ‘Green Space Development (हरित क्षेत्र विकास) कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत नगरका प्रमुख स्थानमा बालमैत्री मनोरञ्जन स्थल, मनमोहक हरियाली, आकर्षक फुलबारी, सुरक्षित र अपाङ्गमैत्री वाक-वे (Walkway) र ज्येष्ठ नागरिक विश्रामस्थल सहितको सुविधा सम्पन्न बहुउद्देश्यीय हरित पार्क तथा उद्यान निर्माण प्रक्रिया अगाडि बढाइनेछ।

 

  1. टोल विकास संस्था, आमा समुह र स्थानीय क्लवहरुको सहयोगमा नगरपालिका भित्र रहेका सैनामैना चक्रपथ, मुर्गिया लुम्विनी सडक, कलौनी लुम्विनी सडक, सालझण्डी ढोरपाटन सडक जस्ता सडकका छेउछाउमा हरियाली विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

 

  1. नगरपालिका, सामुदायिक वन र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत चुरे पहाडको फेद र भिरालो जमिनमा पहिरो तथा कटान रोक्न तारजाली सहित वायो-इन्जिनियरिङ्ग (Bio-engineering) प्रविधि अपनाई भेटिभर, बाँस, निगालो, अम्रिसो, केतुकी लगायतका बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिइ चुरे क्षेत्रको संरक्षण गरिनेछ । साथै यस कार्यक्रमको दिगोपनाका लागि आवश्यक पर्ने ती बिरुवाहरूको उत्पादन गर्न नगरपालिकाभित्रै आफ्नै हरित वायो-इन्जिनियरिङ्ग नर्सरी’ निर्माण गरी सञ्चालनमा ल्याइनेछ।

 

  1. नगरपालिकालाई वातावरणमैत्री बनाउन नगरभित्र फोहरको स्रोतमै वर्गिकरण गर्ने र प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कमि ल्याउन बैकल्पिक व्यवस्था गरिनेछ ।

 

  1. घट्दो भू-जल सतहलाई पुनर्भरण (Groundwater Recharge) गर्न र जलवायु परिवर्तन प्रभाव न्यूनीकरण गर्न एक वडा एक पोखरी कार्यक्रमलाई निरन्तरता दिइनेछ। वडा नं. ११ को राजापानी पोखरी, वडा नं. १० को पानवारी पोखरी, वडा नं. ४ को लेडुवा पोखरी, वडा नं. ६ को मेघाहा ताल र नगरका अन्य ऐतिहासिक तथा ठूला पोखरीहरूलाई सौन्दर्यीकरण गर्दै हरियाली, वाक-वे सहितको सुविधा सम्पन्न बहुउद्देश्यीय पर्यावरणीय पार्कका रूपमा विकास गरिनेछ। साथै स्थानीय रोजगारीलाई जोड्दै ठूला पोखरीहरूमा व्यावसायिक माछापालनका लागि प्रतिस्पर्धात्मक ठेक्का बन्दोबस्त गरी नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने नीति लिइनेछ।

 

  1. स्थानीय विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पूर्वतयारीमा जुटौँ, जोखिम घटाऔँ  भन्ने अभियानलाई निरन्तरता दिइनेछ। यस अभियान अन्तर्गत नगर विपद् प्रतिकार्य योजना अद्यावधिक गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस, स्वयंसेवक व्युरो, टोल विकास संस्था र स्थानीय क्लबहरूसँगको समन्वयमा नगर तथा वडा स्तरीय विपद् व्यवस्थापन समिति, स्वयंसेवक र आपतकालीन उद्धार टोलीहरूलाई पूर्वतयारी एवं प्रतिकार्यको अभ्यास तथा अभिमुखीकरण गरिनेछ। साथै समग्र विपद् व्यवस्थापनलाई थप चुस्त र समन्वयात्मक बनाउन स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र लाई सुविधा सम्पन्न बनाइनेछ।

 

  1. नवनिर्मित भौतिक पूर्वाधारको दीर्घकालीन सुरक्षा र विपद् पश्चात क्षतिपुर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा विमा लगायत जोखिम हस्तान्तरणका उपायहरु अवलम्बन गरिनेछ। साथै नगरपालिका भित्र अन्य सार्वजनिक संस्थाको भवन निर्माण गर्दा अनिवार्य नक्सापास गर्ने व्यवस्था मिलाइनेछ ।

 

  1. नगर क्षेत्रभित्रका बस्ती र कृषियोग्य जमिनलाई बाढी, डुबान र नदी कटानबाट सुरक्षित राख्न नगरक्षेत्र भएर बग्ने नदी तथा खोलाहरूको कटान नियन्त्रणका लागि संघ र प्रदेश सरकारसँगको सहलगानी तथा समन्वयमा तटबन्ध निर्माण गर्ने व्यवस्था मिलाइनेछ। पानीको सहज निकास सुनिश्चित गर्न नगरभित्रका प्राकृतिक घोला तथा खोल्साहरूको नियमित सरसफाइ तथा संरक्षण गरिनेछ ।

 

  1. प्रतिकार्यमुखी भन्दा पूर्वतयारीमुखी विपद् व्यवस्थापन नीति अवलम्बन गर्दै नगरपालिका, स्विस रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यस सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ। बढ्दो तापक्रम र तातो हावा (लु) ले पार्ने असर न्यूनीकरण गर्न तातो हावा र स्वास्थ्य (Heat and Health Initiatives)’ सँग प्रत्यक्ष रूपमा जोडी विद्यार्थी, बिरामी र जोखिममा रहेका समुदायलाई सुरक्षित राख्ने नवप्रवर्तनात्मक तथा प्रतिकार्यका कार्यक्रमहरूमा केन्द्रित गरिनेछ ।
  2. नगरको फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न सैनामैना-१० स्थित एकला पहाडमा अगाडि बढाइएको ‘अन्तर-स्थानीय तह संयुक्त फोहोरमैला प्रशोधन केन्द्र’ निर्माणका लागि जग्गा सट्टाभर्ना र रुख कटानबापतको दायित्व भुक्तानी लगायतका सम्पूर्ण पूर्वतयारी भइरहेको छ ।यस गौरवको आयोजनालाई दातृ निकाय वा निजी क्षेत्रको सहलगानी तथा सहकार्यमा भौतिक पूर्वाधार विकासका कार्यहरु अगाडि बढाइनेछ।

 

  1. सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिकाको संयुक्त लगानी तथा सहकार्यमा सञ्चालित वारुणयन्त्रलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ। आगलागीको उच्च जोखिमलाई दृष्टिगत गर्दै बहु-तले भवनहरूमा समेत आगो निभाउन सक्ने क्षमता वृद्धिका लागि साझेदार पालिकाहरूसँग समन्वय गरिनेछ। साथै नगरपालिका भित्र रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई फायरहाइडेन्ट बनाउन अनिवार्य गरिनेछ।
  2. समुदायलाई पूर्वाधारमा अपनत्व दिलाउन “हामी बनाउँछौं, हाम्रो पुर्वाधार; आधा लगानी, पूरा अपनत्व” भन्ने अवधारणालाई आत्मसात गर्दै पूर्वाधार निर्माणमा स्थानीयको स्वामित्व र दिगोपनालाई सुनिश्चित गर्न लागत साझेदारीमा मागमा आधारित योजनाहरूलाई निरन्तरता दिइनेछ।
  3. दिगो वन व्यवस्थापन मार्फत वन पैदावार उत्पादन बृद्धि गरी स्थानीय आपूर्ती, रोजगारी सृजना र आयात प्रतिस्थापनमा जोड दिईनेछ। सामुदायिक वनको उचित व्यवस्थापन गर्दै वनमा आधारित स्रोतहरुको अधिकतम उपयोग गरिनेछ।
  4. नगर क्षेत्रभित्र सञ्चालित वन, खानेपानी, सहकारी संघ लगायतका विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी ती संस्थाहरुको संस्थागत सुशासन कायम गराइनेछ ।
  5. स्वच्छ र सुन्दर सैनामैना निर्माणका लागि खानेपानी तथा सरसफाई संस्थाहरुलाई टोल विकास संस्था समेतको सहभागिता र सहकार्यमा निरन्तर रुपमा सरसफाइका कार्यक्रमहरु सञ्चालन गर्न उत्प्रेरित गरिनेछ ।

 

  1. भवन अनुमति प्रक्रियालाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन EBPS (Electronic Building Permit System)  प्रणालीको प्रभावकारी कार्यान्वयन तथा अभिलेख व्यवस्थापनलाई थप सुदृढ गरिनेछ।

 

  1. भूकम्प प्रतिरोधी निर्माण प्रविधि, राष्ट्रिय भवन संहिता (NBC) तथा सुरक्षित भवन निर्माण सम्बन्धी डकर्मी तथा मिस्त्री तालिम सञ्चालन गरिनेछ। भवन निर्माण अनुमति, सुपरिवेक्षण तथा निरीक्षण प्रक्रियामा भवन मापदण्ड तथा राष्ट्रिय भवन संहिताको कडाइका साथ कार्यान्वयन गरिनेछ।

 

  1. नगरपालिकाको प्रचलित भवन मापदण्ड बमोजिम सार्वजनिक क्षेत्र, बाटो, कुलो, खोला, वन तथा अन्य सार्वजनिक जग्गा संरक्षणमा असर नपर्ने गरी जग्गा दर्ता हुँदाका वखत कानून बमोजिम हुने गरी दर्ता नभएका (Non-registered) जग्गामा निर्माण भएका भवनहरूको घरनक्सा दर्ता तथा अभिलेख व्यवस्थापन कार्यलाई निरन्तरता दिइनेछ।

 

  1. भवन अनुमति प्रक्रियालाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउँदै स्वीकृत नक्सा अनुसार निर्माण भए/नभएको नियमित अनुगमन तथा मापदण्ड विपरीतका निर्माण कार्यलाई नियन्त्रण गरिनेछ। सेवाग्राहीलाई आवश्यक प्राविधिक परामर्श तथा सहजीकरण उपलब्ध गराउँदै वातावरणमैत्री, ऊर्जा दक्ष र दिगो भवन निर्माणलाई प्रोत्साहन गरिनेछ।
  2. बजेट तथा कार्यक्रमलाई आवधिक योजना, दीगो विकास लक्ष्यको स्थानीयकरण, लैङ्गिक संकेतिकरण गरी मध्यमकालिन खर्च संरचनासँग तादम्यता मिलाई आयोजना बैंकसँग आवद्ध गरिनेछ। गैर सरकारी संस्था मार्फत सञ्चालन गरिने कार्यक्रममा लागत साझेदारीलाई अनिवार्य गर्ने व्यवस्था मिलाइनेछ।
  3. संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी तथा व्यवस्थित बनाइ नगरलाई सुशासनयुक्त नगर बनाउन क्षमता विकास योजना बमोजिम जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गरिनेछ ।
  4. सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण र बिभिन्न सञ्चारमाध्यम मार्फत नगरले सञ्चालन गरेका कार्यक्रमलाई जनता समक्ष पुर्याउने व्यवस्था मिलाइनेछ।
  5. सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी वनाउन सामाजिक सुरक्षालाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी वायोमेट्रिक प्रणालीको माध्यमबाट तथ्याङ्कलाई यथार्थ र वस्तुपरक वनाइनेछ। बैंकहरुसँगको समन्वय र सहजिकरणमा ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्ग लाभग्राहीहरूको लागि घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ साथै असक्त जेष्ठ नागरिक र पूर्ण अपाङ्ग लाभग्राहीहरूको घर घरमै नवीकरण गर्ने व्यवस्था मिलाइनेछ ।
  6. पञ्जीकरणतर्फ डिजिटाइज हुन वाँकी रहेका अभिलेखहरुलाई डिजिटाइज गरिनेछ र सेवा इकाइ मार्फत पञ्जीकरण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
  7. नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन स्वीकृत गरी सो बमोजिम स्थायी पदपूर्ति गरिनेछ । नगरपालिकाको स्वीकृत दरवन्दीमा सेवा करारमा कार्यरत कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको मापदण्डको परिधि भित्र रही सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनेछ। अन्तिम लेखापरीक्षणबाट प्राप्त सुझावको आधारमा तत्काल सुधारका कार्यक्रम सञ्चालन गरी तिव्रताका साथ बेरुजु फर्छ्यौट गर्दै शून्य वेरुजु नगरपालिका बनाउने नीति लिइनेछ।
  8. नागरिकहरूलाई न्यायीक कार्यसम्पादनमा सहज पहुँच पुर्याउन न्यायीक समितिको माध्यमबाट विवादहरूको कम खर्चिलो, छिटो, छरितो तथा प्रभावकारी रूपमा न्यायको प्रत्याभूति हुने गरी मेलमिलापको माध्यमबाट विवादको निरूपण गर्ने व्यवस्था मिलाइनेछ। न्यायीक कार्य प्रणालीलाई सूचना प्रविधिमा आवद्ध गरी डिजिटल अभिलेख व्यावस्थापनको माध्यमबाट न्याय प्रकृयालाई छिटो, छरितो, पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाइनेछ। न्यायीक कार्यमा संलग्न पदाधिकारी तथा मेलमिलापकर्ताको लागि आवश्यकता अनुसार क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  9. नगरपालिकाको सेवा प्रवाहलाई सहज बनाउन सेवा प्रवाहलाई डिजिटलाईज गरिनेछ। नागरिकले आफ्नो सेवालाई अनलाईन माध्यमबाट लिने तथा ट्रयाक गर्न सकिने व्यवस्था मिलाईनेछ ।
  10. शान्ति सुरक्षा कायम राख्न सैनामैना नगरपालिका वडा नं १ मा प्रहरी बिट स्थापनाका लागि आवश्यक पहल भइरहेकोछ । उक्त स्थानमा प्रहरी बिट यथाशीघ्र स्थापना गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरिनेछ ।
  11. करको दायरालाई विस्तार गर्दै राजश्व संकलनलाई दिगो, पारदर्शी र प्रभावकारी बनाइनेछ। राजश्व संकलन तथा करदाता अभिलेख अद्यावधिक गरिने छ। पूर्ण अनलाइन तथा डिजिटल माध्यमबाट राजश्व भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ।
  12. करदातालाई स्वेच्छिक कर तिर्ने भावनाको विकास गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। व्यक्तिगत, व्यवसायिक तथा संघ संस्थाको लागि स्थायी लेखानम्बर (प्यान नम्बर) नगरपालिकाबाट उपलब्ध गराउने व्यवस्था गरिएकोमा सोलाई निरन्तरता दिइनेछ ।
  13. नगरपालिका क्षेत्रभित्र सूचिकरण भई सञ्चालन हुने अटोरिक्सा तथा ई-रिक्सालाई नगरपालिकाको पहिचान हुने गरी छुट्टै सवारी साधनको नम्बर प्रदान गरी सञ्चालन गर्न रुट निर्धारण गर्ने व्यवस्था मिलाइनेछ ।
  14. नगरपालिका अन्तरगतका उत्कृष्ठ करदाता, उद्यमी, व्यवसायी, कर्मचारी, सञ्चारकर्मी, टोल विकास संस्था लगायत नगरको विकासमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन तथा सम्मान गरिनेछ।
  15. नगरपालिका तथा मातहतका कार्यालयहरूबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई जनमुखी, उत्तरदायी, पारदर्शी, समावेशी, प्रविधिमैत्री बनाउँदै लगिनेछ। कानूनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, आर्थिक अनुशासन, स्रोत साधनको दक्ष, मितव्ययी र प्रभावकारी व्यवस्थापन जस्ता असल शासनका आधारभूत मूल्य र मान्यताहरूलाई आत्मसात् गर्दै सर्वसाधारण नागरिकले गुणस्तरीय सरल, सहज, छिटो छरितो सेवा प्राप्त गर्ने व्यवस्था सुनिश्चित गरिनेछ।

सम्बन्धित समाचार