मुख्य समाचार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ मा विश्वासको मत लिने

मुख्यमन्त्रीमा एमालेको तर्फबाट लिला गिरि र माओवादीको तर्फबाट जोख बहादुर महरालाई सार्ने तयारी,एमाले भन्छ वर्चश्व भएकाले एमालेकै नेतृत्व हुनुपर्छ,माओवादी केन्द्र भन्छ भागबन्डामा लुम्बिनी प्रदेश माओवादीलाई परेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यहि चैत २२ गते विश्वासको मत लिने भएका छन् ।प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस समेत पठाएको प्रवक्ता पाण्डेयले उल्लेख गरे ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार चैत २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका ४–४जना सांसद छन् । तर,राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी,लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३–३जना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् ।एमाले,माओवादी केन्द्र,जसपा,नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी हुँदा नयाँ समीकरण अनुसार बनेको गठबन्धनको बहुमत पुग्ने देखिन्छ ।

नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टाराईले लुम्बिनी प्रदेशमा एमालेको बर्चश्व भएकोले एमालेले नै नेतृत्व गर्ने दाबि गरेका छन् ।नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता लिला गिरि भएकोले मुख्यमन्त्री गिरि नै हुने नेता भट्टाराईले खुलासा गरेका छन् भने एमालेका नेता तथा प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीका आंकाक्षीको रुपमा देखिएका छन् ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा लुम्बिनी प्रदेश सरकार गठन हुने आंकलन गरिएको छ ।बागमती र लुम्बिनी प्रदेश माओवादी केन्द्रको भागमा परेको भन्दै लुम्बिनीमा माओवादीको तर्फबाट मुख्यमन्त्रीमा जोख बहादुर महरालाई बनाउने तयारी भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले बताए ।मंगलबार बुटवलमा एमाले सहित चार दलको अनौपचारिक छलफलले माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार बनाउने सहमति भएको अध्यक्ष बरालले दर्साए ।

सम्बन्धित समाचार