प्रदेश ५मुख्य समाचार

पटके सेवा अब भैरहवा भन्सारबाट

रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट पटके सेवा सुरु गरिएको छ ।यातायात व्यवस्था सेवा कार्यालय भैरहवा,रुपन्देहीबाट प्रदान गरिदैँ आएको आर.टी.ओ (पटके शाखा)सेवा सिद्धार्थनगर–१,बेलहियास्थित भैरहवा भन्सार कार्यालय परिसरबाट सञ्चालन भएको हो ।पटके शाखाको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतबाट आएका सेवाग्राही धु्रव सिंहलाई सवारी साधनका लागि पटके बाटो इजाजतपत्र (पटके पास) दिदै उक्त शाखाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले पटके काट्न टाढा जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै भन्सार परिसरमा सुरु भएको शाखाले पर्यटकलाई सहजता प्रदान गर्ने बताए ।उनले भने, ‘आज यो शाखा शुभारम्भ गरिएको छ, नेपाली न.प्लेटका सवारी साधनका लागि पट्के काट्न टाढा भयो भन्ने जुन कुरा छ । यसमा पनि हामी लाग्छौं ।’

पट्के सेवामा बस्ने कर्मचारीको विशेष महत्व रहेकाले गुनासो नआउने गरी काम गर्न सिडियो अर्यालले निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी अर्यालले कम बोलेर काम धेरै गरौं भन्ने मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘चेकजाँचको प्रणालीलाई एकीकृत,व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ । पर्यटकको गाडीबाट सुरुवात गरौं । एक ठाउँमा सवारी साधन चेकजाँच भएपछि स्टीकर टाँसेर अन्य ठाउँमा चेकजाँच नहुने गरी एकीकृत चेकजाँचका लागि होमवर्क गरेर अघि बढ्छौं । ’

यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका प्रमुख ईश्वरचन्द्र अर्यालले पटके सेवाले प्रदेशको राजस्वमा वृद्धि हुने विश्वास व्यक्त गरे । उनले यो कार्यालयमा ७ जना स्वीकृत दरबन्दी रहेको बताए । उनले भने, ‘जनशक्ति कम छ । कार्यालयबाट पनि पटके सेवा उपलब्ध गराउन मन्त्रालयमा पहल गर्छु ।’भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले पर्यटकहरुको सेवामा सहजता आउने विश्वास राखे ।

सम्बन्धित समाचार