नागरिकमा शान्ति,सुरक्षा तथा अमयचयन राख्न रुपन्देहीको सैनामैना नगरपालिकामा अस्थायी प्रहरी पोष्ट,कलौनी स्थापना गरिएको छ । सैनामैना नगरपालिकाको वडा नम्बर–६, स्थित कलौनीमा लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशीले सो प्रहरी पोष्टको सोमबार उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशीले स्थानीयको माग र आवश्यकतालाई बुझेर प्रहरी पोष्ट स्थापना गरिएको बताए ।डिआईजी जोशीले नागरिकको सुरक्षाका निम्ति प्रहरी सधैव कटिबद्ध रहने भन्दै कुनै समस्या पर्न साथ प्रहरी नागरिकको सुरक्षाका लागी तयार रहेको बताए ।
आफ्नै घरमा ढुक्क संग बस्ने सुरक्षाको प्रबन्ध प्रहरीले गरिरहेको दाबी गरे ।साथै,प्रहरीसँग सूचना लिने मात्र नभई सूचना दिन उनले स्थानीयलाई आग्रह गरे ।उनले समाजको सहयोगबिना प्रहरी अघि बढ्न नसक्ने बताए ।
नेपाल प्रहरीको नियमित बजेटबाट रु.५ लाख ५० हजार,लुम्बिनी प्रदेश सरकारबाट रु. ५ लाख तथा स्थानीय जनसमुदायको सहयोगबाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रशासन शाखा २०८० असार २६ गतेको निर्णयअनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको रुपन्देही जिल्लाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर बि.कले जानकारी दिए ।
उनले भने, ‘जनतासँग हातेमालो गर्दै स्थानीय सुरक्षा संवेदनशीलतालाई मनन र विश्लेषण गर्दै शान्ति सुरक्षा प्रदान गर्नुपर्ने दायित्वमा हामी खरो उत्रनेछौं । ’सो क्षेत्रमा हुन सक्ने सवारी दुर्घटना,चोरी तस्करी नियन्त्रण, विपद्का घटना न्यूनीकरण,विभिन्न किसिमका सामाजिक अपराध न्यूनीकरण गर्न यो चौकीले महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको एसपी बि.कको भनाइ छ ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सबैको सहमति,एकता र बलले नै अस्थायी प्रहरी पोस्ट उद्घाटन भएको बताए । उनले प्रहरी पोस्ट स्थापनाले शान्ति सुरक्षा प्रदान हुने विश्वास गरेको बताए । नगरप्रमुख शर्माले सबैको घरघरमा राज्यले पनि प्रहरी राख्न नसक्ने भएकाले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी पोस्टको स्थापना भएको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख सहायक जिल्ला अधिकारी ध्रुव कुवंर,नगरपालिकाका संस्थापक मेयर चित्र बहादुर कार्की,नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल,युवा समाजसेवी प्रेम थापा लगायतले बोल्दै पोष्ट सञ्चालनले शान्ति,सुरक्षामा कुनै समस्या नआउने बताउदै नागरिक पनि प्रहरी संग हातेमालो गर्न तयार रहेको उद्घोष गरे ।सवारी दुर्घटना समेत कम हुने अपेक्षा सबैले राखेका थिए ।कार्यक्रमको सञ्चालन भने ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक अनिल पण्डितले गरेका थिए ।सो पोष्ट निर्माणका लागी दुधराक्ष युवा क्लबले महत्वपुर्ण भुमिका खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्