मुख्य समाचार

मानवअधिकारकर्मीद्धारा प्रदर्शन,अपराधीलाई उन्मुक्ति नदिनेमा जोड

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा स्थानीय संघसंस्थाको सहयोगमा रुपन्देहीकोे सैनामैना नगरपालिका वडा न.६ कलौनीमा शान्ति कामना गर्दै मानवअधिकारकर्मीद्धारा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन, ङ्क्रमणकालीन न्याय पीडित मैत्री र मानवअधिकारमैत्री बनाऊ,मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ,सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’लगायतका प्लेकार्ड सहति प्रदर्शन उत्रिएका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले माओवादी द्वन्द्वमा बाल सैन्य प्रयोग र गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनाहरू भएका प्रमाणित भइसकेकाले ती घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताए ।
अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने खनालले चेतावनी दिए ।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले ल्याएको अध्यादेशले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य र कार्यान्वयन हुन नसक्ने उनले बताए ।विश्वमा दिगो शान्ति कायम गर्न मुलुकमा विद्यमान गरिबी,बेरोजगारी र असमानता र विभेद अन्त्य तथा युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन सरकार, राजनीतिक दल सक्षम बन्नुपर्ने खनालले सुझाए ।

सो अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराई, सैनामैना नगरपालिका ६ का वडाध्यक्ष गोपाल पोखरेल लगायतले विश्वमा शान्ति कायम गर्न युवाहरूको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका स्ववियु सभापति मनोज बेल्सबासे,दुधराक्ष युवा क्लबका अध्यक्ष किरण पोख्रेल,लियो क्लब अफ सैनामैनाका अध्यक्ष पुजा ढकाल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार