रुपन्देहीको सैनामैनामा पाँचौ थारु माघी महोत्सवको आयोजना हुने भएको छ ।थारु आदिबासीको नयाँ वर्ष २६४६ को अवसरमा यही पुस २८ ,२९ र ३० गते महोत्सव आयोजना गरिएको हो ।थारु कल्याणकारीणी सभा सैनामैनाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो ।महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै राजनीतिक चेतनाका कार्यक्रमको आयोजना गरिने थारु कल्याणकारीणी सभा सैनामैनाका सल्लाहकार खुशीराम चौधरीले बताए ।
उनले महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेत पनि भर्ने विश्वास ब्यक्त गरे । थारु समुदायमा राजनीतिक चेतको आवश्यकता रहेको बताउँदै चौधरीले महोत्सवले थारु समुदायमा नेतृत्व क्षमताको विकास गर्दै आएको बताए ।तीन दिने कार्यक्रम अन्तर्गत यही पुस २८ गते रक्तदान कार्यक्रमको आयोजना गरि महोत्सवको सुरुवात हुने सैनामैना नगर कार्यसमितिका सभापति दुल बहादुर थारुले जानकारी दिए । २९ गते उद्घाट कार्यक्रमसँगै थारु साहित्य बाचन, तथा विविध खेलकुद प्रतियोगिताको आयोजनासँगै थारु लोक नृत्य प्रदर्शन गरिने उनले बताए ।
पुस ३० गते मुल समारोहको आयोजना गर्दै थारु झाँकी, जनजनतामुलक र्याली,स्थानीय लोक नृत्यसँगै थारु खानाका परिकारहरु महोत्सवमा राखिने कार्यसमितिका उपसभापति हरिनारायण थारुले जानकारी दिए ।महोत्सवको तयारी भईरहेको कार्यसमितिका सचिब चन्द्रमान थारुले बताए ।२००५ सालमा स्थापना भएको थारु कल्याणकारीणी सभाले सामाजिक विकृति हटाउँदै भाषा संस्कृति,सीप,तथा मठमन्दिर संरक्षणमा जोड दिदै आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्