सर्वोच्च अदालतको आदेशलाई रुपन्देही क्षेत्र न.२को निर्वाचन अधिकृतको कार्यालयले कार्यान्वयन नगर्दा फेरि विवाद बल्झिएको छ ।सर्वोच्चले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि सो आदेशलाई वेवास्ता गरेको पाईएको हो ।
अदालतको आदेशलाई कार्यान्वयन नगरेको भन्दै निर्वाचन अधिकृत कार्यालय प्रमुख विरुद्ध नाराबाजी सुरु भएको छ ।नेकपा एकीकृत समाजवादी सहित सत्ता गठबन्धनका युवाहरुले आज उम्मेदवार राजु गुरुङको नाम टाँस गर्न र चुनाव चिन्ह तत्काल प्रदान गर्न दबाब दिदैँ निर्वाचन अधिकृत कार्यालय छिरेका हुन् ।
सो क्रममा प्रहरी र सत्ता गठबन्धनका युवाहरु बिच धकेला धकेल समेत भएको थियो । सर्वोच्चको आदेशलाई निर्वाचन आयोगले अवज्ञा गरे सत्ता गठबन्धनका युवाहरु चर्को आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । अहिले सत्ता गठबन्धन र निर्वाचन अधिकृतका कार्यालय विच छलफल चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्