शैक्षिक गतिविधि प्रभावकारी बनाउन मायादेवीमा विद्यालयलाई सहजीकरण

मायादेवी गाउँपालिका, रुपन्देहीको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयमा शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालयलाई सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा शिक्षासँग सम्बन्धित ऐन, नीति, नियम, कार्यविधि तथा मापदण्डका साथै गाउँपालिकाको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी विषयमा विद्यालयका सम्बन्धित पक्षलाई जानकारी तथा सहजीकरण गरिएको थियो।कार्यक्रममा शिक्षासम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाको जानकारी गराउँदै विद्यालयका वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउने तथा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको व्यवस्थापन पक्षलाई थप व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखाका नारायणप्रसाद लामिछानेले विद्यालयमा सञ्चालन हुने शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाबारे स्पष्टता प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यालयले वार्षिक कार्यक्रम तथा शैक्षिक गतिविधि कार्यान्वयन गर्दा देखिएका समस्या र आवश्यकताका विषयमा सहजीकरण गर्दै शिक्षाको गुणस्तर सुधारका लागि शाखाले निरन्तर सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममार्फत विद्यालयमा शैक्षिक गतिविधिको प्रभावकारी सञ्चालन, वार्षिक कार्यक्रमको कार्यान्वयन, शैक्षिक व्यवस्थापनमा सुधार तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।मायादेवी गाउँपालिकाले गुणस्तरीय शिक्षा, प्रभावकारी शैक्षिक व्यवस्थापन तथा शैक्षिक क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्दै विद्यालयसँग समन्वय र सहजीकरणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

सम्बन्धित समाचार