रुपन्देहीको सैनामैनामा चोरी गरिएको अटो रिक्सा काटेर टुक्रा पार्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। असोज २९ गते दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक प्रल्हाद के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका–१, बर्माडाँडास्थितमा लु १ ह १७९८ नम्बरको रातो अटो रिक्सालाई गेन्डरले काट्दै गरेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार उक्त अटो बुटवल उपमहानगरपालिका–६ निवासी शिव श्रेष्ठको नाममा दर्ता रहेको र बुटवल उपमहानगरपालिका–११ बुद्धनगर निवासी अनिल खनालले भाडामा सञ्चालन गर्दै आएका थिए। उक्त अटो असोज २८ गते बिहान करिब ९ः२० बजे बुद्धनगरस्थित खनालको घरबाट हराएको भन्दै इलाका प्रहरी चौकी देवीनगर,बुटवलमा जानकारी गराइएको थियो।
प्रहरीले चोरी भएको अटो फेला पारेर अनुसन्धान गर्ने क्रममा अटो चोरी गरी ल्याई काटेर टुक्रा पार्ने कार्यमा संलग्न रहेको आशंकामा पाँच जनालाई कटिङ गरी टुक्रा पारिएको अटो रिक्सा सहित नियन्त्रणमा लिएको जनाएको छ।नियन्त्रणमा लिइएकाहरूमा गुल्मी धुर्कोट गाउँपालिका–७ वाग्ला बस्ने २७ वर्षीय बाबुराम नेपाली, धुर्कोट गाउँपालिका–४ जैसिथोक बस्ने २० वर्षीय रमेश नेपाली,गुल्मी इश्मा गाउँपालिका–४ दोहोली बस्ने ३३ वर्षीय बाबुराम थापा, गुल्मी मदाने गाउँपालिका–३ सिर्सैनी बस्ने २५ वर्षीय वीरबहादुर नेपाली र गुल्मी रेसुङ्गा नगरपालिका–५ भुवनपोखरी बस्ने २३ वर्षीय दिपक खनाल रहेका छन्।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिहेको प्रहरी निरीक्षक के.सीले उल्लेख गर्नुभयो ।चोरीका घट्ना घट्न नदिन रन्यौरा प्रहरी निर्मम भएर लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्