सुरेश परियार,असार ७ गते,
रुपन्देहीको सैनामैना नगरपालिकाले नगर सभा सुरु गरेको छ । आगामी बजेट निर्माणका लागि विविध नीति तथा कार्यक्रम सैनामैनाको तेह्राैँ नगर सभामा नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले प्रस्तुत गरेका हुन । कोख देखि शोक सम्म नगर सरकारको नीति अवलम्बन गरिने,जेष्ठ तथा अपंगता भएका ब्यक्तिहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईने,सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय विभेद विरुद्ध उन्मुलन दिवस मनाईने,उज्यालो शहर:सैनामैनावासीको रहर अनुरुप सडक स्मार्ट बत्ति जडान गरिने,पुर्वाधार,कृषि,शिक्षा लगायत क्षेत्रलाई प्राथमिकता दिईने नगरप्रमुख शर्माको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको हो ।
आगामी वर्ष २०८०/०८१मा प्रस्तुत भएका नीति तथा कार्यक्रमहरु यस प्रकार छ ।यो हेर्नुस् पुर्णपाठ ।
सामाजिक विकास :
- नेपालको संविधानले प्रदान गरेको नागरिकको आधारभूत स्वास्थ्य सेवाको अधिकार सुनिस्चितताको लागि सैनामैना नगरपालिकामा तिन वटा स्वास्थ्य चौकी, एउटा शहरी स्वास्थ्य सेवा केन्द्र, छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र एउटा नागरिक आरोग्य केन्द्रबाट संघिय सरकारले तोकेका औषधि र स्वास्थ्य सेवालाई निशुल्क प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
- सैनामैना नगरपालिकामा बसोबास गरिरहेका अशक्त भएका व्यक्ति, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अति गरिव तथा विपन्न व्यक्तिहरुलाई स्वास्थ्य सेवा लिनको लागि नगर भित्र र रुपन्देही जिल्ला भित्रका अन्य स्वास्थ्य संस्थामा जानुपर्ने भएमा निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
- “कोख देखि शोकसम्म नगर सरकार” भन्ने नीतिलाई अवलम्वन गर्दै घरमै सुत्केरी हुने दरलाई कम गरी मातृ तथा शिशु मृत्युदर कम गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुनलाई प्रोत्साहन तथा सुत्केरी र नवजात शिशुको पोषण तथा सरसफाई प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- नसर्ने रोगहरु मध्ये महिलामा हुने पाठेघरको मुखको क्यान्सरको प्रकोप सबैभन्दा धेरै रहेको हुदा पाठेघरको मुखकों क्यान्सर समयमै पहिचान गर्नको लागि सबै स्वास्थ्य संस्थामा निशुल्क नियमित पाठेघरको मुखको क्यान्सर स्क्रिनिंग र VIA परीक्षण गर्ने कार्यलाई प्रभावकारी वनाई निरन्तरता दिइनेछ ।
- थारु समुदायमा मात्र हुने वंशाणुगत रोग सिकलसेल एनिमियाको समयमा पहिचान गर्नको लागि स्क्रिनिंग गरी उपचारको व्यवस्था मिलाइनेछ ।
- क्यान्सर, मुटुरोग, मृगौलारोग, गम्भीर चोटपटक लगायतका विभिन्न स्वास्थ्य समस्या भएर आर्थिक अभावमा स्वास्थ्य संस्थामा जान नसकेका विपन्न नगरबासीलाई स्वास्थ्य संस्थासम्म पुगेर जाँच तथा उपचार गराउन आवश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।
- जनावरको टोकाइबाट लाग्ने रेविज रोगको रोकथामका लागि पर्रोहा स्वास्थ्य चौकीमा संचालित एन्टी रेविज भ्याक्सिन लगाउने कार्यलाई थप व्यवस्थित बनाउदै लगिनेछ ।
- पर्रोहा, दुधराक्ष र सालझण्डी स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला सेवालाई गुणस्तरीय र थप प्रभावकारी बनाउदै लगिनेछ । पर्रोहा स्वास्थ्य चौकीमा जडित एक्सरे सेवालाई यसै वर्ष देखि सन्चालनमा ल्याइनेछ ।
- स्वास्थ्य विमामा दर्ता नभएका विपन्न नागरिकलाई स्वास्थ्य विमाको पहुचमा ल्याउन आवश्यक प्रवन्ध मिलाईने छ । महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई निशुल्क स्वास्थ्य विमालाई निरन्तरता दिइनेछ ।
- क्षयरोग र कुष्ठरोगका विरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउनको लागि नियमित रुपमा स्क्रिनिंङ्ग क्याम्पहरु संचालन गरिनेछ ।
- सैनामैना नगरपालिकाको मातृ तथा नवजातशिशुको स्वास्थ्य सुधारका लागि महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाले गरेका कार्यको उच्च मुल्यांकन गरी प्रोत्साहनको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- पर्रोहा स्वास्थ्य चौकीमा रहेको २४ घण्टे बर्थिंङ्ग सेन्टर संचालनलाई व्यवस्थित बनाउदै दुधराक्ष स्वास्थ्य चौकीमा समेत वर्थिङ्ग सेन्टर संचालन गरिनेछ ।
- किशोरीहरूमा हुने रक्तअल्पता कम गर्नको लागि साप्ताहिक आइरन फोलिक एसिड खुवाउने र गर्भवतीलाई भिटामिन डि खुवाउने कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
- मृगौला रोगका लागि नियमित डायलाइसीस गर्न र मुटुरोगको उपचारका लागि वुटवलसम्म नियमित आउन जानको लागि निशुल्क यातायात सेवाको व्यवस्था मिलाइनेछ ।
- सैनामैना १ मा संचालित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय संचालनमा थप प्रोत्साहन गरिनेछ ।
- स्वास्थ्य सम्वन्धि तथ्यांक व्यावस्थापनलाई व्यवस्थित र गुणस्तरीय बनाइ तथ्यपरक योजना तर्जुमा गरिनेछ ।
- निर्माणाधिन १५ सैयाको आधारभूत अस्पताललाई सम्पन्न गरी आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गरी संचालनमा ल्याईनेछ ।
- संघीय सरकारद्धारा सालझण्डीमा निर्माण हुने ट्रमा केयर सेन्टरको निर्माण कार्यलाई यथासिघ्र अगाडि वढाउन आवश्यक समन्वय गरिनेछ ।
- दीर्घकालिन फोहरमैला व्यवस्थापनको लागि सैनामैना नगरपालिका वडा नं. १० स्थित एकला पहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँ पालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहारमैला प्रशोधन केन्द्र निर्माण गर्न संघीय सरकारबाट जग्गा भोगाधिकार लिने कार्य अन्तिम चरणमा पुगेकोले यथासिघ्र जग्गाको भोगाधिकार लिई निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि वढाइनेछ ।
- सम्पूर्ण नगरवासीलाई सफा, स्वच्छ र गुणस्तरीय खानेपानी उपलव्ध गराउन संघीय र प्रदेश सरकारको समन्वयमा पाइपलाईन विस्तार र ओभरहेड टयाँङकी निर्माणको कार्यलाई नियमित रुपमा अगाडि वढाउदै एक घर एक धाराको व्यवस्था मिलाईनेछ ।
- नगरपालिकालाई पूर्ण सरसफाई कायम गर्न आ-आफ्नो टोलमा सरसफाई गर्न टोल विकास संस्थालाई परिचालन गरिनेछ । नगरपालिका भित्रका खानेपानी तथा सरसफाई संस्थाहरुलाई सम्वन्धित वडा कार्यालयसंग समन्वय गरी सरसफाई गर्ने व्यवस्था मिलाईनेछ ।
शिशु देखि कक्षा ६ सम्मका सबै बालबालिकालाई विद्यालयमा तयार गरिएको निशुल्क, स्वच्छ र स्वस्थ्यवर्धक खाजा खाने व्यवस्थालाई व्यवस्थित वनाउन नगरपालिकाबाट दिइदै आएको थप सुविधालाई निरन्तरता दिईनेछ ।
- सामुदायिक विद्यालयका कर्मचारी तथा वालविकासका सहजकर्तालाई दिइदै आएको न्युनतम पारिश्रमिकलाई निरन्तरता दिइनेछ । विद्यार्थीको मूल्यांकनलाई विश्वसनीय वनाइ र्शैक्षिक गुणस्तर अभिवृद्धि गर्न कक्षा आठको नगरस्तरीय परीक्षालाई व्यवस्थित गरिनेछ ।
- अनौपचारीक प्रौढ (महिला) विद्यालय तथा गुरुकुल विद्यालय सन्चालनमा प्रोत्साहन गरिनेछ।
- सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री वनाई कक्षा कोठालाई व्यवस्थित वनाउन थप फर्निचरको व्यवस्था गरिनेछ । नगर भित्रका उत्कृष्ठ शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिनेछ। शिक्षकलाई शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) लाई सुदृढ गर्ने कार्यलाई थप व्यवस्थित गर्दै लगिनेछ । विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रवर्द्धन गर्न खोज अनुसन्धान तथा आविश्कारलाई प्रोत्साहित गरिनेछ ।
- सामुदायिक विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलव्ध गराइनेछ साथै संस्थागत विद्यालयका छात्राहरुलाई समेत निशुल्क दिईदै आएको सेनिटरी प्याड वितरणलाई निरन्तरता दिईनेछ । छात्रा, दलित तथा अपाङ्ग विद्यार्थीलाई दिइदै आएको छात्रवृतीलाई निरन्तरता दिइनेछ ।
- वालवालिकाहरुको सिकाइ कृयाकलाप अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुदृढिकरण गर्न विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सूचना प्रविधिको पूर्वाधार विकास गरिने कार्यलाइ निरन्तरता दिईनेछ । आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमश लागु गरिनेछ । विज्ञान तथा प्राविधिक धारलाई प्रोत्साहित गरिनेछ ।
- स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद अभियानलाई सार्थक बनाउन नगरस्तरीय खेलकूद समितिद्वारा नगर भित्र संचालन हुने सबै किसिमका खेलहरुलाई एकद्वार प्रणालीवाट सचालन गरिनेछ साथै नगर भित्रका युवाहरुलाई खेलकुदमा प्रोत्साहित गरिनेछ ।
- युवा क्लव गठन, नमुना संसद अभ्यास, युवा स्वयंसेवकको विकास र परिचालन तथा युवा मैत्री स्थानीय शासनको लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
- सामाजिक न्याय, समानता र समताका लागि सकरात्मक विभेदको नीति अनुरुप हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्धन्द्धपीडित तथा हिंसापीडित महिला, बेरोजगार तथा अति पिछडिएका व्यक्ति र विपन्न समुदायका महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको पहिचान गरी क्षमता विकास तथा रोजगारमुलक तालिमलाई निरन्तरता दिईनेछ । महिला संचारकर्मीहरुको क्षमता विकास तथा लैङ्गिक हिसां बिरुद्ध कार्यक्रम संचालन गरिनेछ ।
- बालमैत्री स्थानीय शासनलाई प्रवर्धन गर्न कार्यविधि बनाई कार्यन्वयनमा ल्याईनेछ। बालक्लवहरुको क्षमता विकास गरी बाल अधिकार संरक्षण समितिलाई अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ ।
- अपाङ्गता परिचय पत्र वितरण कार्यलाई थप व्यवस्थित गर्दै लगिनेछ ।
- नगरपालिकाबाट सन्चालन हुने कार्यक्रमको लागि विज्ञहरुको रोष्टर तयार गरी सुचिकृत विज्ञबाट प्रशिक्षण दिने व्यवस्था मिलाईनेछ ।
- नगरपालिकासंगको साझेदारीमा कार्यक्रम सन्चालन गर्न चाहने संघ संस्थाहरुले अनिवार्य रुपमा उनिहरुको लागत सहभागिता सुनिश्चित हुने गरी कार्यक्रम स्वीकृत गराई कार्यन्वयन गराउने नीति लिईनेछ ।
- महिलासंग उप प्रमुख कार्यक्रमलाई निरन्तरता दिई थप व्यवस्थित वनाउदै लगिनेछ ।उद्यमी महिलाहरुको उत्पादन तथा उत्पादकत्व बृद्धि गराई उनिहरुबाट उत्पादित वस्तुहरुको वजारीकरण गर्न महिला कोसेली घर निर्माण गर्न आवश्यक प्रवन्ध मिलाईनेछ ।
- नगर भित्र रहेका यौनिक अल्पसंख्यकहरुको तथ्याङ्क संकलन गरी आवश्यकताको आधारमा कार्यक्रम सन्चालन गरिनेछ ।
- नगरपालिकामा सन्चालित स्थानीय विकास कोष कार्यक्रमको थप क्षेत्र विस्तार गरी उक्त कार्यक्रमहरुलाई व्यवस्थित र प्रभावकारी वनाईनेछ ।
- बालवालिकाको सामाजिक, वौद्धिक, संवेगात्मक तथा नैतिक विकासका लागि नगर प्रमुखसँग बालबालिका कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- सम्वन्धित संस्थालाई जिम्मेवार वनाई विद्यालय व्यवस्थापन समिति, खानेपानी तथा सरसफाई उपभोक्ता समिति, स्वास्थ्य संस्थाका व्यवस्थापन समिति र सामुदायिक वनका पदाधिकारीहरुलाई तालिम प्रदान गर्न आवश्यक पहल गरिनेछ।
- समाजमा विकृतिको रुपमा फैलिरहेको लागु पदार्थ दुर्व्यसनी नियन्त्रणको लागि नेपाल प्रहरी र स्थानीय संघ संस्थाहरुको सहकार्यमा आवश्यक कार्यक्रमहरु सन्चालन गरिनेछ । साथै मदिरा उत्पादन र वितरणलाई कानून वमोजिम व्यवस्थित गरिनेछ।
- समाजमा रहेको जातिय छुवाछुत प्रथालाई उन्मुलन गराउन जातिय भेदभाव उन्मुलन तथा छुवाछुत विरुद्धका कार्यक्रमहरु सन्चालन गरिनेछ ।
आर्थिक विकास :
- भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नाँपजाँच कार्यलाई छिटोछिरतो एवं प्रभावकारी बनाउन एक नापी टोलीले प्रत्येक महिनामा कम्तिमा ४० हेक्टर अर्थात (६० विगाहा) जग्गा नाप्नु पर्ने कार्यलाई कर्मचारी प्रोत्साहन सुविधासँग जोडि जनशक्ति सहितको थप उपकरणको व्यवस्था मिलाई जग्गा नाँपजाँच कार्य आर्थिक वर्ष २०८०/८१ भित्र सम्पन्न गरिनेछ ।
- वालीविरुवाको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उन्नत जातको वीउ विरुवा वितरण गर्नुका साथै वालीहरुमा लाग्ने विभिन्न किरा, रोग नियन्त्रण गर्न विषादी तथा माइक्रो न्युट्रेन्ट निशुल्क वितरण गरिनेछ । वाली बिमा गर्ने कार्यको शुरुवात गरिनेछ ।
- मसलावाली तथा आलुवाली उत्पादन गर्ने कृषकहरुलाई कोल्ड स्टोर भण्डारण तथा ढुवानीमा अनुदानको व्यवस्था मिलाईनुका साथै मुर्गिया हाटवजारमा निर्माणाधिन शित भण्डारण गृह सम्पन्न गरी यसै आर्थिक वर्षमा सार्वजनिक निजी साझेदारी प्रणाली मार्फत संचालन गरिनेछ ।
- खेती प्रणालीमा लागत कम गर्नको लागि प्लाष्टिक रोल वितरण गरिनेछ । मह उत्पादन गर्ने व्यावसायीक कृषकहरुलाई उत्पादनको आधारमा अनुदान दिइनेछ साथै कृषक समूहहरुको मागमा आधारित स्थलगत तालिम संचालन गरिनेछ । व्यावसायिक फूल खेती गर्ने व्यावसायिहरुलाई उत्पादनमा सहयोग कार्यक्रम संचालन गरिनेछ र कृषि उत्पादन वृद्धि गर्नको लागि सतह सिंचाई तथा साना सिंचाई कार्यक्रम संचालन गरिनेछ । प्रत्येक वडामा महिनाको एक पटक किसानसंग प्राविधिक घुम्ती कार्यक्रम सन्चालन गरिनेछ ।
- दुध तथा मासुजन्य उत्पादनलाई वृद्धि गर्न नश्ल सुधार कार्यक्रम संचालन गरिनेछ । पशु स्वास्थ सेवा कार्यक्रममा उपचार, खोप र प्रयोगशाला सेवालाई प्राथमिकता दिईनेछ । दुध र मासुमा उत्पादन लागत कम गर्नका लागि हिउदे, बर्षे, बहूबर्षीय घाँसको वीउ तथा विरुवा वितरण कार्यलाई निरन्तर रुपमा अगाडि वढाईनेछ ।
- पशुपंछी पालक किसानको हानी नोक्सानी कम गर्न पशु बिमा कार्यक्रम सन्चालन गरिनेछ । “उत्पादन साथमा अनुदान हातमा“ भन्ने नारालाई आत्मसात गर्दै दुध र मासु उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराईनेछ साथै बाख्राको पकेट कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- एक पालिका एक भेटेरेनरी डाक्टर नीति बमोजिम पशुपन्छी जन्य रोगहरु नियन्त्रण गर्न बिषय बिशेषज्ञ सहितको पशु स्वास्थ सेवा उपलब्ध गराईनेछ । व्यवसायिक पशुपन्छी तथा मत्स्यपालक कृषकहरुको फर्म दर्ता तथा नबिकरण नियमित रुपमा गर्दै लगिनेछ । भुसिया कुकुर नियन्त्रण गर्नका लागि वन्ध्याकरण र खोप कार्यक्रम संचालन गरिनेछ ।
- सहकारी संस्थाहरुलाई सहकारीको मुल्य, मान्यता र सिद्धान्तको अनुसरण गर्न गराउन संस्थागत विकास तथा अनुशिक्षण कार्यक्रम सन्चालन गरिनेछ । सहकारी अनुगमन नियमनलाई निरन्तरता दिईनेछ । सहकारी संस्थाहरुमा संस्थागत सुशासन, लगानीको सदुपयोग र सुरक्षा गराउदै संस्थाहरुलाई उत्पादन र श्रमको क्षेत्रमा केन्द्रित गराउने नीति लिईनेछ ।
- वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने कल्याणकारी सेवाहरु कामदारको घरपरिवारका सदस्यलाई प्रदान गरिने औषधि उपचार सहयोग र आर्थिक सहायता तथा सेवाहरु बोर्डसंगको समन्वयमा संचालन गरिनेछ ।
- बैदेशिक रोजगारीको व्यक्तिगत श्रम स्वीकृती र पुनःश्रम स्वीकृतीको कार्य नगरपालिकाबाट संचालन गरिनेछ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा दर्ता भएका बेरोजगार व्यक्तिहरुलाई न्युनतम १०० दिनको रोजगारी प्रत्याभुत गर्न कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना संचालन गरी श्रममुलक योजना मार्फत समुदायको विकाससंगै सामाजिक संरक्षणको व्यवस्था मिलाईनेछ।
- नगरपालिका स्तरीय योजनाहरुमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारहरुलाई प्राथमिकतामा राखी आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी क्षेत्रसँग सहकार्य तथा समन्वय गरिनेछ ।
- निजी क्षेत्रलाई अर्थतन्त्रको विकासमा मुख्य साझेदारको रुपमा लिई नगरपालिका र निजी क्षेत्रको वलियो साझेदारीबाट उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र रोजगारी सृजना मार्फत नगरलाई आर्थिक रुपमा सवल वनाईनेछ ।
- यस नगरमा बसोबास गर्ने थारु आदिवासी लगायत सवै समुदायहरुको भाषा तथा संस्कृतिको जगेर्ना गरिनेछ ।
पूर्वाधार विकास :
- नगर भित्र रहेका सडक, पार्क, उद्यान लगायतका हरित क्षेत्रलाई व्यवस्थित, सफा र सुन्दर बनाउने नीति लिदै सैनामैनाको पर्यटन पर्वद्धनमा थप टेवा पुग्ने गरी नगरपालिका तथा साझेदारहरुको सहलगानीमा सैनामैना ३ मुर्गियामा आधुनिक र आकर्षक सैनामैना पार्क निर्माण गरिनेछ ।
- सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन हुने योजना तथा कार्यक्रमलाई सुचीकरण गर्न खोज अनुसन्धान गरी बजेटको लागि संघ, प्रदेश र नगरपालिकाको सहलगानीमा सुचारु गर्ने नीति लिइनेछ ।
- संघ, प्रदेश र स्थानीय तहको एकल वा सहलगानीमा संचालन गरिने वार्षिक योजनामा संघ र प्रदेशबाट स्रोत सुनिश्चितता भएमा मात्र संम्झौताको म्याद थप गरिनेछ ।
- नगर भित्र निर्माण हुने क र ख बर्गका भवन र १५ धुर माथि क्षेत्रफलमा बन्ने सबै बर्गका भवनहरुमा बर्षादको पानी सोझै ढल वा नालीमा नमिसाई पुनर्भरणका निम्ति सोक पिट वा रेन वाटर हार्भेष्टिङ्ग (Rain Water Harvesting) को प्रविधि अपनाई जमिन मुनि पठाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।
- घर नक्सा पास प्रकृयालाई सहज, सरल र व्यवस्थित वनाउन घरनक्साहरुको दर्ता तथा स्वीकृतिलाई विधुतिय नक्सापास प्रणाली (e-BPS) मार्फत सन्चालन गरिनेछ ।
- शहरी सौन्दर्य र हराभरा नगर बनाउन एक घर दुई विरुवाको अवधारणालाई निरन्तरता दिई नक्सापास प्रकृयासंग आवद्ध गरिनेछ ।
- भवन संहिता अनुसार भवन निर्माण गर्न यस नगरमा रहेका डकर्मीहरुलाई आवश्यक तालिम प्रदान गर्ने र पुनर्ताजगी तालिमको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
- नगर भित्रका मुख्य सडकहरु मुर्गिया-लुम्बिनी सडक, कलौनी- लुम्बिनी सडक, सैनामैना चक्रपथ, सैनामैना मेजर सडक, सालझण्डी- ढोरपाटन सडक, रानिवगिया- वोलवम सडकजस्ता ठूला तथा महत्वपुर्ण सडकहरुमा वातावरणीय सुन्दरताका निम्ति सुगन्धित सदावहार फुल्ने विरुवा रोपी ग्रीनबेल्ट निर्माण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
- “उज्यालो शहरः सैनामैनावासीको रहर ” अवधारणा अनुरुप नगरपालिका अन्तरगतका मुख्य तथा सहायक मार्गहरुमा नेपाल विधुत प्राधिकरणसंगको सहलगानीमा रातको समयमा आवतजावतमा सहजता ल्याउन, अप्रिय घटना नियन्त्रण गर्न र शहरी सौन्दर्यता समेत अभिवृद्धि गर्न स्मार्ट सडक वत्ती जडान गरिनेछ ।
- संघ, प्रदेश र नगरपालिकाको सहलगानीमा आवधिक योजनाले परिलक्षित गरेका ठूला तथा महत्वपूर्ण आयोजनाहरुमा बजेटको सुनिश्चित गरी निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
- विस्तारै घट्दै गएको भूमिगत पानीको सतह पुनर्भरण गरी माथि ल्याउन तथा पर्यावरण संरक्षण गर्न एक वडा एक पोखरी निर्माण गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।ऐतिहासिक महत्वका कुवाहरुको संरक्षण तथा पोखरीको समेत विस्तार गर्दै सिंचाईलाई समेत टेवा पुग्ने गरी पर्यटकीय प्रवर्धन गरिनेछ र ठुला पोखरीमा फिसिङ् स्टेसन राखिने व्यवस्था मिलाईनेछ ।
- विकेन्द्रिकरणको सिद्धान्त अनुरुप वडावासीलाई सम्वोधन हुने गरी वडामा दिईने पूजिगत अनुदानलाई प्राथमिकता दिईनेछ ।
- स्वस्थ नागरिक, स्वस्थ नगर भन्ने नीतिलाई अंगिकार गरी एक वडा एक खुला व्यायमशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- खुला संग्रालयको रुपमा रहेको सैनामैना क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा संरक्षण एवं सो क्षेत्रको प्रवर्धन गर्ने नीतिलाई निरन्तरता दिईएकोछ ।
- सदियौ देखि बसोवास गर्दै आएका आदिवासी थारु सामुदायहरुको पहिचान, सँस्कति र सँस्कारलाई समेत असर नपर्ने गरी थारु गाउँमा रहेका सडकको दायाँवायाँ ढल निकास र टायल विछ्याउने कार्य मार्फत वातावरणमैत्री उज्यालो नमूना गाउँ कार्यक्रमलाई थप विस्तार गरिनेछ ।
- नेपाल सरकार र लुम्बिनी प्रदेशको सहलगानीमा वडा नं 3 मा अवस्थित लामीरह वहुउद्देश्यीय वाँध वहुवर्षिय ठेक्का व्यवस्थापन गरी निर्माण गर्ने व्यवस्था मिलाईनेछ ।
- प्रदेश सरकारको सहकार्यमा वडा नं. 1 मा प्रदेशस्तरको ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने व्यवस्था मिलाईनेछ र वडा नं. 9 मा निर्माण भई रहेको यात्रु प्रतिक्षालय, चार्जिङ्ग स्टेशन सहितको रिफ्रेस सेन्टर (पुनर्ताजकी केन्द्र) लाई नगरपालिका मार्फत सन्चालन गर्न आवस्यक प्रवन्ध मिलाईनेछ ।
- नगरभित्रका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्वर्द्धन गर्दै पर्यटन पर्वद्धन गर्न संघीय सरकार र नगरपालिकाको सहकार्यमा पर्रोहा पर्मेश्वर वोलवमधाम मन्दिर निर्माण कार्य सम्पन्न गरी पर्यटकिय धार्मिकस्थलको रुपमा विकास गरिनेछ ।
- संघ, प्रदेश र नगरपालिकाको साझेदारीमा निर्माणाधिन औधोगिक ग्राम, गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मुर्गियास्थित राष्ट्रिय फुटवल रङ्गशाला, वोलवम क्षेत्र विकास परियोजना, मुर्गियास्थित शित भण्डारण गृह, सैनामैना संग्राहालय, वडा कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणजस्ता वहुवर्षिय योजनाहरुको निर्माण कार्यलाई निरन्तरता दिईनुको साथै भवन निर्माण भएका वडा कार्यालयहरुको थप पुर्वाधर निर्माण गरिनेछ ।
- एसियाली विकास वैंकको सहयोगमा सैनामैना चक्रपथको सालझण्डी खण्डको आगामी आ.व. मा वोलपत्र आव्हान गर्ने व्यवस्था मिलाईनेछ । साथै राजापानी र पानवारी सिमसार क्षेत्र, मलमला क्षेत्र एकिकृत विकास आयोजना, एकला पहाड स्थित फोहरमैला प्रशोधन केन्द्र जस्ता रणनैतिक महत्वका योजनाहरुको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ ।
- विपन्न समुदायका फुस तथा खरका छाना भएका आवासलाई जस्तापाताको छानाले प्रतिस्थापन गर्दै लगिनेछ ।
- नगरपालिकाका पुर्वाधारहरुमा लगानीका विभिन्न वित्तिय उपकरण तथा स्रोत परिचालन गर्न नगर विकास कोषमा नगरपालिकाको शेयर स्वामित्व रहने गरी आवस्यक प्रवन्ध मिलाईनेछ ।
वन वातावरण तथा विपद् व्यवस्थापन :
- विपद् न्यूनिकरणको लागि पूर्व तयारीमा जुटौ भन्ने अभियानलाई साकार पार्न विपद् व्यवस्थापन समितिलाई थप प्रभावकारी वनाइनेछ ।
- जलवायु उत्थानशीलता सहितको विपद् पूर्व तयारी जोखिम आँकलन, जोखिम पूर्व चेतावनी, विपद् प्रतिकार्यको तयारी तथा विपद् न्यूनीकरण र पुनर्लाभका क्रियाकलापहरु नेपाल रेडक्रस सोसाईटी अन्तरगत सन्चालन हुने SUPER परियोजना र नगर पालिकाको सहलगानीमा संचालन गरिनेछ ।
- नगर विपद् प्रतिकार्य योजना वनाई नेपाली सेना, नेपाल प्रहरी, टोल विकास संस्था, स्थानीय क्लव र रेडक्रससँग समन्वय र सहकार्यमा विपद् न्यूनीकरण एवं व्यवस्थापनको प्रक्रियालाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
- बढ्दो विपद्जन्य जोखिम न्यूनीकरणका लागि विद्यालयका शिक्षक र विद्यार्थीलाई भवन मापदण्ड तथा सडक सुरक्षा उपायहरु सहित ट्राफिक शिक्षा अभिमुखिकरणको व्यवस्था मिलाइनेछ ।
- जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधिहरुलाई प्रोत्साहित गरिनेछ । जलवायु अनुकूलित विकासका कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रवर्धन गर्ने नीति लिईनेछ ।
- चुरे क्षेत्रको संरक्षण तथा संवर्धन गर्न नगरपालिका, सामुदायिक वन र राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको सहकार्यमा चुरे पहाडको फेदमा तारजाली गर्ने र भिरालो जमिनमा बाँस, निगालो, अम्रिसो, केतुकी लगायतका बिरूवा रोप्नेकार्यलाई निरन्नतरता दिइनेछ ।
- नगरपालिका भित्रका जोखिमयुक्त वस्ति तथा क्षेत्रलाई सुरक्षित वनाउन वायो ईन्जिनियरिङ्ग (Bio Engineering) प्रविधि अपनाई वृक्षारोपण गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
- आगलागीबाट हुने मानवीय जनधनको क्षतिलाई समयमै नियन्त्रण गर्न चार पालिका अन्तर्गत सैनामैना नगरपालिका, कञ्चन, गैडहवा र सुद्धोधन गाउँपालिकाको संयुक्त प्रयास र आर्थिक सहयोगमा अन्तर स्थानीय तह विपद् व्यवस्थापन तथा वारुणयन्त्र सञ्चालन समिति गठन भई वारुणयन्त्र सञ्चालनमा ल्याइएको छ । उक्त समितिको संस्थागत विकास एवं दीगोपनका लागि कोषमा योगदान रकम थप्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- समृद्धिका लागि वन परियोजना अन्तरगत निजी तथा सार्वजनिक जग्गामा कृषि वन प्रणालीमा आधारित वृक्षारोपण गरी जल तथा माटो संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ । समुदायमा आधारित वन व्यवस्थापन समुहहरुलाई वन क्षेत्र भित्र डालेघाँस एवं गैरकाष्ठ वन पैदावारहरुको व्यवस्थापन गर्न र पशु पालन सम्वन्धी तालिमको साथै सुशासन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्वन्धी क्षमता विकास गर्न कार्यक्रम सन्चालन गरिनेछ ।
- राष्ट्रिय राजनीतिमा अमुल्य योगदान पुर्याउनु भएका स्व. विपि कोईराला र स्व. पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा तारवार सहितको वृक्षारोपण कार्यक्रमलाई थप प्रभावकारी वनाउदै लगिनेछ ।
- विपद् व्यवस्थापन सम्बन्धी कानुन, नीतिहरु तथा कार्ययोजना तयार देखि जोखिम न्यूनीकरणलाई पुर्व तयारी र प्रतिक्रिया एवं विपद् उत्थानशील समाज निर्माण कार्य USAID र नेपाल नगरपालिका संघको साझेदारीमा अघि बढाइनेछ साथै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेका नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस र नेपाल स्काउटसँगको साझेदारीमा आपतकालीन उद्धार टोलीको गठन तथा सञ्चालन गरिनेछ ।
- छाडा चौपाया तथा जंगली जनावरबाट कृषी क्षेत्रमा हुने क्षेतीको न्युनीकरणाका लागि वन कार्यालयसँग आवश्यक समन्वय गरी कार्यक्रम संचालन गरीनेछ ।
सेवा प्रवाह तथा सुशासन :
- भूउपयोग योजनाले निर्दिष्ट गरेका स्थान बाहेक जथाभावी घर निर्माणलाई निरुत्साहित गरिने र भवन संहिताको पूर्णपालना गरी भूकम्प प्रतिरोधी घर /भवन निर्माण गर्न प्रोत्साहित गरिनुका साथै भवन निर्माण मापदण्डलाई समय अनुकुल परिमार्जन गरी कार्यान्वयन गराइनेछ
- घर तथा भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्ने, सडकमा चौपाया बाँधेर राख्ने जस्ता सडक यातायातमा व्यवधान पुर्याउने कार्यलाई निरुत्साहित गरी सडक आवागमनमा सहजता ल्याइनेछ।
- आर्थिक वर्ष 2079/80 देखि 2083/84 सम्म कार्यन्वयनमा आएको प्रथम आवधिक विकास योजनाले परिलक्षित गरेको समृद्ध सैनामैना सुखी सैनामैनावासी उद्देश्यका लागि उत्पादन, पर्यटन र पुर्वाधारलाई मुख्य संवाहकका रुपमा अंगिकार गर्ने नीतिलाई निरन्तरता दिईनेछ । साथै वार्षिक वजेटसंग मध्यमकालिन खर्च संरचनालाई आवद्धता गरी संस्थागत गरिनेछ ।
- सार्वजनिक खरिद अनुगमन कार्यालय मार्फत संचालन रहेको विधुतिय खरिद प्रणालीलाई क्रमश अनिवार्य वनाई खरिद प्रकृयालाई थप पारदर्शी तथा व्यवस्थित गरिनेछ ।
- नगरपालिकाको सेवा प्रवाहलाई विकेन्द्रित गरी वडा तह सम्म पुर्र्याउने लक्ष अनुरुप एक वडा एक प्राविधिक व्यवस्था गरी उपभोक्ता समिति मार्फत सञ्चालन गरिने योजनाहरुको सम्झौता सम्बन्धित वडावाटै गर्ने नीति लिईनेछ ।
- नगर क्षेत्रभित्र लिइने सवै प्रकारका करहरुलाई पारदर्शि एवं थप व्यवस्थित गर्न सुत्रमा आधारित राजश्व मोडुलको अवधारणा लागु गरिनेछ ।
- सटरमा सन्चालित व्यवसाय वाहेक जुत्ता, चप्पल, छाता सिउने, मर्मत गर्ने, बुट पोलिस लगाउने र मकै पोलेर जीवन निर्वाह गर्ने व्यवसायीहरुलाई व्यवसायकर र फुसको घरमा जीवन निर्वाह गरी गुजारा गर्ने घरपरिवारहलाई सम्पत्ति करमा छुट दिइनेछ ।
- करको दायरामा सम्पूर्ण पेशा व्यवसायीहरुलाई आवद्ध गराउन तथा राजश्व असुलीमा तिव्रता ल्याउन राजश्व अनुगमन सम्वन्धी कार्यविधि, २०७९ लाई तदारुकताका साथ लागु गरिनेछ ।
- आ.व. २०८०/०८१ को प्रथम चौमासिक भित्र व्यवसायकर, घरजग्गा बहालकर, सम्पत्तिकर, मालपोत तथा भूमिकर, बहाल बिटौरी र पूर्वाधार विकास शुल्क एकमुष्ठ बुझाउनेलाई छुटको व्यवस्था मिलाइनेछ ।
- यस नगरपालिकाको मतहातमा रहेका साप्ताहिक हाटवजारको हकमा कोभिड-१९ जस्ता प्रकृतिका महामारी आएको खण्डमा सञ्चालन हुन नसकेको अवधिको छुटको व्यवस्था मिलाइनेछ ।
- नगरपालिका अन्तर्गत रिक्त रहेका कानून बमोजिम करार सेवा लिन मिल्ने पद बाहेकको स्वीकृत दरवन्दिमा स्थायी पदपूर्ति प्रक्रिया अगाढि बढाउने नीति लिइनेछ ।
- देशमा देखिएको आर्थिक मन्दी तथा नगरपालिको आन्तरिक आय समेतलाई मध्यनजर गरी यस आर्थिक वर्षमा नगरपालिकाको स्रोतबाट कुनै पनि सवारी साधन खरिद नगर्ने नीति लिइनेछ ।
- हालसम्म कर्मचारीलाइ प्रदान गर्दै आएको प्रोत्साहन भत्तालाइ पुनरावलोकन गरी वस्तुनिष्ठ र कार्य सम्पादन सूचकमा आधारित बनाउने नीति लिइनेछ ।
- न्यायिक समितिका पदाधिकारी, नगर कार्यपालिकावाट प्रत्येक वर्ष सूचिकृत मेलमिलापकर्ता तथा सहजकर्ताहरुलाई मेलमिलाप सम्बन्धी पुर्नताजगी तालिम प्रदान गरिनेछ । नागरिकहरुलाई न्यायको सुनिश्चितता गराई न्यायिक समिति मार्फत विवादहरु कम खर्चिलो तथा छिटो र छरितो रुपमा निरुपण गरिनेछ।
- नगरपालिकाको हरेक क्षेत्रको विकासका लागि नगर प्रोफाइल हुनुपर्ने मान्यता अनुसार डिजिटल स्थानीय सूचना प्रणाली (LGMIS)सफ्टवेयर जडान गर्ने र गुगलमा आधारित डिजिटल हाउस नम्बरीङ् कार्यलाई निरन्तरता दिइनेछ ।
- नगरपालिका र अन्तरगतका वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुमा सेवा प्रवाहलाई सहज वनाउनका लागि फ्री-वाईफाईको व्यवस्था मिलाईनेछ ।
- सेवा प्रवाहलाई चुस्त, दुरुस्त र व्यवस्थित वनाउन जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरी संस्थागत सुदृढिकरण गरिनेछ।नगरपालिकाबाट स्तरवृद्धि तथा तह मिलान भएका कर्मचारीहरुको कार्यविवरण सहितको दरवन्दी मिलान गरिनेछ । नगरपालिकाको सङ्गठन संरचना पुनरावलोकन गरी जनशक्ति पूर्ति गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।
- ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता तथा असक्त भएका लाभग्राहीहरुलार्इ बैंक मार्फत घरमै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ।सामाजिक सुरक्षा भत्ता रकम व्यक्तिको नाममा वैंकमा रहेको खातामा कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत अनलाईन भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।
- राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागसंग समन्वय गरी छुट डिजिटाइजेसनलाई पूर्णता दिइनेछ।
- एम.आइ.एस. सेवा इकाई संचालन कार्यलाइ निरन्तरता दिइ नेपाल सरकार र विश्वबैंक विच भएको सम्झौता बमोजिम सन २०२४ सम्म जन्मदर्ता लगायतका घटना दर्ताहरु सतप्रतिशत पुर्र्याउने राज्यको नीतिलाई पूर्ण रुपमा अंगिकार गरिनेछ।
- नगरपालिका तथा वडा कार्यालयहरुको लागि आवश्यक विद्युतीय उपकरण, फर्निचर लगायतको व्यवस्था मिलाई सुविधा सम्पन्न बनाइनेछ।
- राज्यको चौथो अंगको रुपमा मानिने मिडिया जगतलाई परिचालन गरी स्थानीय रेडियो तथा टेलिभिजन मार्फत जनतासंग जनप्रतिनिधि, हाम्रो सैनामैना राम्रो सैनामैना जस्ता रेडियो, टेलिभिजन कार्यक्रम, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण तथा सार्वजनिक परिक्षण जस्ता कार्यक्रमलाई निरन्तरता दिई पारदर्शिता र जवाफदेहीता कायम गरिनेछ।
- नगरपालिकाको पुर्व पश्चिम राजमार्गको क्षेत्रमा सडक दुर्घटना न्युनीकरण तथा शान्ति सुरक्षा कायम गर्न सि.सि. क्यामेरा जडान कार्यलाइ सम्पन्न गर्न प्रदेश सरकारसंग आवश्यक समन्वय गरिनेछ ।
- मुर्गियास्थित फ्युज सेन्टरलाई विधुत वितरण केन्द्रको रुपमा स्तरउन्नत गर्न नेपाल विधुत प्राधिकरणसंग आवश्यक समन्वय गरिनुका साथै सैनामैना ९ मा निर्माण भै रहेको सव स्टेशनलाई यथासिध्र निर्माण सम्पन्न गरी सन्चालनमा ल्याउन नेपाल विधुत प्राधिकरण संग समन्वय गरिनेछ ।
- निर्दिष्ट भू-उपयोग क्षेत्र र भू-उपयोग योजनाको आधारमा भूमी तथा भूमीश्रोतको उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्न तयार गरिएको नगर स्तरीय भू- उपयोग नक्शा विद्यमान कानुन बमोजिम सुधार गरी स्थानीय भू-उपयोग परिषदबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याईनेछ। सरकारी, सार्वजनिक र गुठी जग्गाहरूको पहिचान, नापजाँच, संरक्षण तथा समुचित उपयोगको नीति कार्यान्वयनमा ल्याइनेछ ।
- नगरपालिकाबाट प्रदान भै रहेको शिक्षा, स्वास्थ्य, पुर्वाधार, विपद् जोखिम न्यूनीकरण, प्रशासनिक सेवाहरुलाई गुणस्तरको चरणवद्ध परीक्षण गरी अन्तरराष्ट्रिय गुणस्तर मान्यता प्रदान गर्न आवश्यक प्रवन्ध मिलाईनेछ ।
- नदीजन्य पदार्थ निकासीबाट प्राप्त हुने राजश्वको कम्तिमा १० प्रतिशत रकम सम्वन्धित वडाको पूर्वाधार विकासमा लगानी गरिनेछ ।
- नगरपालिका मातहतका कार्यालबाट प्रवाह हुने सवै किसिमका सेवा प्रवाहलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामुलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन कानुनको शासन, भष्टाचारमुक्त चुस्त प्रशासन विकेन्द्रिकरण आर्थिक अनुसासन तथा सार्वजनिक कार्य र स्रोतको कुसल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालई आत्मसाथ गरी सर्वसाधारणले पाउनु पर्ने सेवा छिटो छरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने व्यवस्था मिलाइनेछ ।
कार्यक्रममा नगरपालिका उपमेयर विना मगरको अध्यक्षता,नगरका प्रमुख प्रशासकीय अधिकृत जनक थापा,पुर्व नगरप्रमुख चित्र बहादुर कार्की,नगरसभा सदस्यहरुको आतिथ्यता तथा विभिन्न राजनितिक दल,पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्