नेपाली कांग्रेसका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा समावेशी उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।परियारले मंगलबार काठमाडौंमा रहेको महाधिवेशन निर्वाचन समितिको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
१४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका परियार यसपटक समावेशी उपसभापति पदमा प्रतिस्पर्धामा उत्रिएका हुन्। उनी यसअघि दुई कार्यकाल केन्द्रीय सदस्य तथा सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
परियारले कांग्रेसलाई अझ समावेशी, सुदृढ र समयअनुकूल बनाउने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी दिएको बताएका छन्। पार्टीभित्र सबै समुदाय, वर्ग र पुस्ताको सहभागिता सुनिश्चित गर्दै संगठनलाई थप बलियो बनाउन आफ्नो भूमिका केन्द्रित हुने उनको धारणा छ।
उनले कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि योगदान दिँदै आएका नेता–कार्यकर्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा र विचारलाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। पार्टीलाई जनतासँग अझ नजिक जोड्ने र संगठनलाई प्रभावकारी बनाउने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।
परियारको राजनीतिक यात्रामा सामाजिक न्याय, समानता र समावेशिताका विषय महत्वपूर्ण रहँदै आएका छन्। दलित समुदायबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्दै आएका उनले पार्टीको नेतृत्व तहमा समावेशी सहभागितालाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै आएका छन्।यसपटक कांग्रेसको समावेशी उपसभापति पदमा जीवन परियारसहित विनोद चौधरी, फरमुल्लाह मन्सुर, रञ्जित कर्ण र सीता गुरुङको उम्मेदवारी परेको छ। यस क्लस्टरबाट एक जना उपसभापति निर्वाचित हुने व्यवस्था छ।
परियारको उम्मेदवारीलाई कांग्रेसको नयाँ नेतृत्व संरचनामा समावेशिता र संगठनात्मक अनुभवलाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। पार्टीको १५औँ महाधिवेशनबाट नेतृत्व चयनसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण र सामाजिक समावेशिताका विषयमा पनि बहस हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्