सुरेश परियार पुष २७गते । रुपन्देहीको कञ्चन गाउँपालिकाले पुर्वाधार विकास संगै कृषि क्षेत्रमा समेत काम गर्दै अघि बढेको पाईएको छ । कञ्चनलाई तरकारी खेतीको हवको रुपमा विकास गर्ने गरि तरकारी विकास मुल्य विकास सम्बन्धी परियोजनामा शुक्रबार सम्झौता भएको छ ।व्यवसायिक रुपमा कृषि उपज उत्पादन,कृषि संकलन,प्रशोधन र बजारीकरण गरि कृषि क्षेत्रको माध्यमबाट आर्थिक रुपान्तरण गर्ने हेतुका साथ यो परियोजनामा हस्ताक्षर भएको हो ।
कञ्चन गाउँपालिका,हेफर ईन्टरनेशनल र सेतो गुँरास बाल विकास रुपन्देही वीच साझेदारी कार्यक्रम गर्ने गरि सो परियोजनामा गाउँपालिकाका अध्यक्ष नवराज ढकाल,हेफर ईन्टरनेशनलको तर्फबाट कन्ट्री डाईरेक्टर डा.तिर्थराज रेग्मीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता भएको परियोजना सम्पन्न गर्नका लागी रु.२ करोड ८० लाख ३६ हजार खर्च लाग्ने भनिएको छ ।जसमध्ये गाउँपालिकाको तर्फबाट रु.१ करोड ३७ लाख ६० हजार,हेफर ईन्टरनेशनलको तर्फ रु.१ करोड ४२ लाख ७६ हजार लागत उल्लेख गरिएको र सो परियोजनाको अवधि २६ महिना रहने कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ढकालले पालिका भित्रका कृषकहरुलाई व्यवसायिक रुपमा एकिकृत गरि कृषि सहकारी मार्फत उत्पादनमा जोड दिने र दिगो आम्दानी मार्फत रोजगारी सिर्जना हुने अपेक्षा गरिएको बताए । जलवायु मैत्री कृषि प्रविधि मार्फत बजारको माग अनुसार गुणस्तरीय वस्तुहरुको उत्पादन गर्ने,उत्पादन वृद्धि र साना किसानहरुको बजारमा पहुँच पुर्योउने,किसानहरुमा समुह गठन गरि व्यवसायमा आवद्ध गराउने,सहकारी मार्फत संकलन,प्रशोधन र बजारीकरण गर्ने गरि यो परियोजना अघि बढ्ने अध्यक्ष ढकालको भनाई छ ।
सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर,प्रमुख प्रशासकीय अधिकृत सागर गौतम,आर्थिक विकास समितिका संयोजक केशर बहादुर खत्रीले परियोजना सफलताको कामना व्यक्त गरेका छन् ।कार्यक्रममा कार्यापालिका सदस्यहरु,कर्मचारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पालिकाका प्रशासन शाखा प्रमुख गिरीराज अर्यालको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्